उपाध्यक्ष न्यौपानेको राजीनामाले मकवानपुरमा धक्का

साझाकुरा
२०७९ चैत्र १५, बुधबार १३:२९

हेटौंडा-नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले दिएको राजीनामा स्वीकृत भएको छ । यसअघि नै राजीनामा बुझाएर हेटौंडास्थिर घरमै रहेका न्यौपानेको राजीनामा ढिलो गरी स्वीकृत गरिएको हो । राजीनामा बुझाएपछि उनी हेटौंडामा निरन्तर भेटघाट र निजी काममा व्यस्त थिए । पछिल्लो राजनीतिक घटना क्रमका बीचमा उनको राजीनामा पार्टी कार्यालयले थाती राखेको थियो । उनले हेटौंडामा नेकपा एमालेका युवापुस्ताका नेताहरुसँग निरन्तर भेटघाट गर्दै एमालेमै पुनः फर्किन सक्ने संकेत दिएका थिए । पार्टी कार्यालय आलोकनगरमा मगलबार बसेको सचिवालय बैठकले उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले दिएको
राजीनामा स्वीकृत गरेको हो ।

न्यौपानेले पार्टी छोडेसँगै नेकपा (एकीकृत समाजवादी) मकवानपुरलाई ठूलो धक्का लागेको छ । मकवानपुरको कम्युनिष्ट राजनीतिमा आदर्श नेताका रुपमा चिनिएका उनको राजीनामाले पार्टीलाई समस्या पर्ने चर्चा भइरहेको हो । पार्टीले लिएको नीति र कार्यदिशाप्रति असहमति राख्दै नेता न्यौपानेले राजीनामा दिएका थिए । उनले एमालेबाट विभाजन हुँदाको पार्टी र हालको पार्टीको सिद्धान्त, विचार र योजनामा फरक आएको भन्दै फरक मत राख्दै आएका थिए । स्थानीय र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलगत्तैदेखि उनी एमाले र नेकपा एस मिल्नुपर्ने पक्षमा थिए । पछिल्लो सत्ता गठबन्धनले यी दुई पार्टीलाई झन् टाढा बनाएपछि न्यौपानेले पार्टी छाडेका हुन् ।

उपाध्यक्ष न्यौपाने एमाले प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ । मकवानपुरमा उनी निकटका नेता, कार्यकर्ता पनि एमालेसँग नजिकिएको चर्चा भइरहेको छ । न्यौपानेको समसामयिक राजनीतिक घटनाक्रमसँग मिल्दो ‘धोकाको नशा’ कविता धेरै चर्चित बनेको थियो । तत्कालीन नेकपाको पोलिटब्यूरो सदस्य तथा एमालेमा २०४५ सालदेखि पटक–पटक केन्द्रीय सदस्यको भूमिका रहेका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए । एमालेमा रहँदा माधव नेपाल पक्षका न्यौपाने भने एकीकृत समाजवादीभित्र एमालेसँग मिल्नुपर्ने लाइनका मुख्य नेता हुन् ।

यसबीचमै न्यौपानेको केही समयअघि एउटा कविता आयो, ‘धोकाको नशा’ । कविता वाचन गरिरहेको कविताको भिडियो उनले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरे । उनको यो कविता एमालेसँगको गठबन्धन फुटाएर कांग्रेससँगै मिल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णय र एमालेबाट विभाजन हुने र हाल राष्ट्रपतिको उम्मेदवार प्रस्ताव लत्याएर कांग्रेसलाई साथ दिने माधव नेपालको निर्णयसँग सम्बन्धित रहेको चर्चा छ । उपाध्यक्ष न्यौपानेको कविता चर्चामा छ । उनको कवितामाथि कतिपयले वर्तमान राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको टिप्पणी गरेका छन् भने कतिपयले विचलन हुन खोजेकोसमेत आरोप लगाएका छन् ।

न्यौपाने मकवानपुरमा वैचारिक, असल र सरल जीवनयापन गर्ने नेताका रुपमा परिचित छन् । उनै न्यौपानेको वैचारिक राजनीतिले मकवानपुरमा धेरै कम्युनिष्ट नेता जन्माएको चर्चा हुने गरेको छ । एमाले मकवानपुरका युवा पुस्ता उनकै उत्पादनसमेत हुन् । जसकारण पनि न्यौपाने एमाले फर्किने हल्लाले राम्रै बजार पाएको छ । न्यौपानेले २०२९ सालमा पार्टी सदस्यता लिएका थिए । २०३१ सालमा भूमिगत राजनीति गरेका उनले भूमिगतकालमा बारा जिल्लाको पार्टी सचिव बनेर काम गरेका थिए । २०३२ सालपछि उनी तीन वर्ष जेलसमेत परेका हुन् ।

न्यौपानेकै सहोदर दाइ मुकुन्द न्यौपाने पनि एकीकृत समाजवादी छोड्ने तयारीमा छन् । उनले पार्टी छोड्नु अवागै एकीकृत समाजवादीले न्यौपानेलाई सातदिने स्पष्टीकरण सोधेको छ । न्यौपानेले विगत केही समययता लगातार कार्यकर्ता भड्काउने गरी स्ट्याटस लेखेको निष्कर्षसहित पार्टीले स्पष्टीकरण सोधेको हो । तर, एकीकृत समाजवादीले उक्त निर्णय गोप्य राखेको छ । नेकपा एसमा तेस्रो वरियताका नेता मुकुन्द न्यौपानेले एमालेसँग मिल्नुपर्ने भन्दै पार्टी बैठकमा लिखित प्रस्ताव नै पेस गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*