सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद गतिहीन हुन्छः बर्तौला

साझाकुरा
२०७९ चैत्र १५, बुधबार १३:४३

हेटौंडा-नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभा नियमावलीमार्फत् सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन् ।सचेतक बर्तौलाले प्रतिनिधिसभाका सभामुख सभाको नेता भएको भन्दै उनलाई सिंगो संसदले विश्वास गर्नुपर्ने बताए ।

उनले प्रतिनिधिसभा नियमावलीमा सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराउनु सार्वभौम अधिकारको कुरा भए पनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्ने बताए । मंगलबार सचेतक बर्तौलाले सभामुख सभाको रेफ्री भएको भन्दै रेफ्रीले कतिबेला सिठ्ठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्नु नहुने बताए ।

उनले सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताए ।

सचेतक बर्तौलाले त्यसो भएमा संसदीय मूल्य, मान्यता र गरिमा नरहने बताए । सचेतक बर्तौलाले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको बताए ।

नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छाया पार्नु नहुने उनले बताए । उनले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभामुख अगाडि बढ्दा संसद गतिहीन हुनसक्ने र अवरोधको जञ्जालमा पर्नसक्ने बताए । सचेतक बर्तौलाले संसदमा नियमावली निर्माणको सन्दर्भमा विभाजित हुनु हुँदैन भन्ने निष्कर्ष राजनीतिक दलहरुको रहेको पनि जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*