हिमालयन शेर्पासँग मकवानपुर स्तब्ध

साझाकुरा
२०७९ चैत्र १६, बिहीबार १२:१८

हेटौंडा-सिमरामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको पहिलो सेमिफाइनलमा मकवानपुर–११ ए डिभिजन क्लब हिमालयन शेर्पासँग पराजित भएको छ ।बुधबार साँझ सिमरा रंगशालामा भएको सेमिफाइनलमा मकवानपुरलाई ०–३ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको छ । हिमालयनशेर्पाले खेलको २९ औं मिनटमा सुशील राईको गोलबाट अग्रता लिएको थियो ।

अव्योमीको पासमा सुशीलले पेनाल्टी एरियाबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । शेर्पाको डिएरियाबाट बल खोस्दै काउण्टर मुभ बनाएका अब्योमी र सुशीलको आकर्षक तालमेलमा पहिलो हाफमा शेर्पाको अग्रता सम्भव भयो । हिमालयन शेर्पाको जीतमा म्यान अफ दी म्याच निशान लिम्बु नायक बने । खेलको ७४ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका निशानले दुई गोल गरे ।

खेलको ८७ औं मिनेटमा मिलन राईको पासलाई गोलमा परिणत गर्दै निशान लिम्बुले हिमालयन शेर्पाको अग्रता दोब्बर बनाएका हुन् । डिबक्स भित्र मकवानपुरका डिफेण्डरले क्लिएर गर्न नसकेको बल खोस्दै मिलनले निशानलाई सुन्दर पास उपलव्ध गराएका थिए । खेलको ७४ औं मिनटमा खामिर गिल्सनको ठाउँमा मैदान प्रवेश गरेका मिलन राईले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

खेलको अतिरिक्त समयमा निशान लिम्बुको व्यक्तिगत दोश्रो गोलबाट हिमालयन शेर्पाले ३–० को जीत सुनिश्चित गर्दै फाइनल यात्रा तय ग¥यो ।अतिरिक्त समयको चौथो मिनेटमा हिमालयन शेर्पाका मिलन राइको पासमा निशानले अर्को गोल थपे । डिबक्स भित्र डिफेण्डरको गल्तीका कारण मकवानपुरले अन्तिम मिनटमा तेश्रो गोल बेहोर्नुप¥यो । क्वाटरफाइनलमा भरतपुर फुटबल क्लबविरुद्ध आकर्षक खेल प्रदर्शन गरेको मकवानपुर–११ हिमालयन शेर्पाको सामु निरिह देखियो ।

शेर्पाविरुद्ध मकवानपुरले सम्झन लायक अवसर बनाउन सकेन । भरतपुर फूटबल क्लबलाई टाइब्रेकरमा निराश बनाउँदै मकवानपुर ११ गोल्डकपको सेमिफाइनल पुगेको थियो । प्रतियोगिता अन्तर्गत बिहीबार साविक विजेतान्युरोड टिम एनआरटी र चर्च ब्वाइज यूनाईटेडबीच दोश्रो सेमिफाइनलखेल हुनेछ ।

चैत १८ गतेसम्म संचालन हुने प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा एनआरटी, नेपाल एपीएफ क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, वीरगन्ज युनाइटेड क्लब, मकवानपुर–११, बागमती युवा क्लब, भरतपुर फुटबल क्लब र आयोजक सहभागी थिए । एनआरटी प्रतियोगिताको साविक विजेता र एपीएफ उपविजेता हो ।

जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी र जगदम्बा स्टील्स् प्रालि मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् । विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ताले जनही २० हजार प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*