‘मनको लड्डु’ नबनोस् रेलमार्ग

साझाकुरा
२०७९ चैत्र १६, बिहीबार १३:०९

काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्रै तयार हुने समाचार आएको छ । भारतले प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर एक महिनाभित्रै तयार हुने जानकारी गराएको सरकारका उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । अध्ययन सकेर एक महिनाभित्रै प्रतिवेदन नेपालले पाउने अपेक्षा गरिएको मन्त्री श्रेष्ठले बताएका छन् । परियोजना अध्ययनका लागि २२ असोज २०७८ मा नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको थियो । सम्झौताअनुरुप डीपीआर तयार हुने जनाइएको छ ।

केआरसीएलले तयार पारेको प्रारम्भिक रिपोर्टअनुसार प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने देखिएको छ । प्रस्तावित रेलमार्गको करिब ४० किलोमिटर खण्डमा सुरुङ रहनेछ भने साना–ठूला गरी करिब ३५ वटा पुल बनाउनुपर्ने देखिएको छ । डीपीआर प्रतिवदेन प्राप्त भएपछि आयोजनाको निर्माणको मोडालिटीबारे छलफल अघि बढ्नेछ । रक्सौलबाट आउने रेलमार्ग बाराको जीतपुर, निजगढ, मनवानपुरको शिखरपुर, सिस्नेरी हुँदै काठमाडौं पुग्नेछ । यसबीचमा कुल १३ वटा रेलवे स्टेसन रहने छन् । जसमध्ये तीन वटा स्टेशन मकवानपुरमै पर्ने सम्भावना छ ।

ब्रोडगेज प्रयोग गरिने रेलमार्ग निर्माणको लागत करिब २ खर्ब ५४ अर्ब नेपाली रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । दुई महिनाअघि नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विनयमोहन क्वात्रासँग सरकारी प्रतिनिधिको भेटले काठमाडौं–रक्सौल रेलमार्ग निर्माणलाई प्राथमिकतामा अगाडि बढाउने सम्बन्धमा सहमति भएको थियो । दुई देशबीचको उच्च प्राथमिकतामा परेर रेलमार्ग निर्माण भएको अवस्थामा नेपालको आर्थिक र सामाजिक विकासले फड्को मार्ने देखिन्छ । प्रस्तावित रेलमार्ग मकवानपुरको साविक धियाल गाविस हाल बकैया गाउँपालिका, सिस्नेरी हुँदै काठमाडौं पुग्ने बताइएको छ ।

कुनैबेला काठमाडौंबाट मध्य तराई निस्कने एकमात्र नाका कुलेखानी–भीमफेदी–हेटौंडा थियो । मकवानपुरबाट रेलमार्ग मात्र नभई निजगढ–काठमाडौं फाष्टट्रयाक पनि निर्माणाधीन छ । रेलमार्ग र फाष्टट्रयाक निर्माण सम्पन्न भएको अवस्थामा मकवानपुर सडक पूर्वाधारले थप सुसज्जित हुनेछ । सरकारले गत आर्थिक वर्ष २०७८÷७९ को बजेटमा काठमाडौं– रक्सौल रेलमार्ग र काठमाडौं–रसुवागढी रेलमार्गको डीपीआर तयार गर्ने जनाएको थियो ।

काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेशन सर्भे (एफएलएस) का आधारमा रेलमार्ग मकवानपुरको धियाल–शिखरपुर–सिस्नेरी हुँदै काठमाडौं पुग्ने देखिएको हो । एमओयूअनुसार रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनी मार्फत् तयार गरेको हो । भारतले सम्झौताअनुसार नेपालमै काम गर्न टोली पठाएको थियो । १८ महिनाभित्र यो काम सकाउने लक्ष्य थियो । यो रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाललाई दिइसकेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*