एसइई परीक्षार्थीलाई अग्रिम शुभकामना

साझाकुरा
२०७९ चैत्र १७, शुक्रबार १२:२०

आज चैत १७ गते शुक्रबारदेखि देशभरि एकैसाथ सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई शुभकामना दिने लहर आएको छ । सामाजिक सञ्जालमा सबै विद्यालय, शैक्षिक प्रतिष्ठान, शिक्षाप्रेमीहरुले विद्यार्थीलाई शुभकामना दिइरहेका छन् । विद्यार्थीलाई सफलताको शुभकामनासँगै खानपिनमा ख्याल राख्न, लेख्ने कलम, प्रवेशपत्र, सिसाकलम जस्ता परीक्षा सामग्री तयारी अवस्थामा राख्न, निन्द्रा नमार्न, सुझाइएको छ । अभिभावकहरुले आफ्ना नानीबाबूलाई परीक्षा केन्द्रसम्म पु¥याउने र परीक्षा सकिएपछि लिन जाने कुरामा पनि सुझाव दिइएको छ । विद्यालयले पनि विशेष चासो दिन र भयरहित रुपमा परीक्षा दिने वातावरण तयार गर्न शिक्षा क्षेत्रका बिज्ञहरुले सुझाएका छन् ।

बिहान ८ बजेदेखि एसइई परीक्षा देशभर एकैसाथ सुरुहुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गराइने छ । यसवर्षका एसइई परीक्षामा सहभागी हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५ सय ९१ जना रहेपनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ हजार २२७ जना थिए । कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेका छन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन सहभागी हुँदैछन् । यसवर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसइईमा सहभागी हुँदैछन् । परीक्षाका लागि ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पु¥याउनेलगायतका सबै काम सकिएको बोर्डले जानकारी दिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरु, सातै प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशकहरु, ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरु, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुुखहरु, बोर्डका अध्यक्ष, सदस्य सचिव, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न गरेको बताइएको छ ।

प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गरिनेछ । त्यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पु¥याउने, उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पु¥याउने र आवश्यक समन्वय गर्ने कामसमेत पूरा भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*