विद्यालय नजाने बालबालिका खोज्ने कसरी ?

साझाकुरा
२०७९ चैत्र १९, आईतवार ०९:३८

देशकै पहिलो बालमैत्री गाउँपालिका भनेर चिनिने मनहरी गाउँपालिकामा बालबालिका अझै विद्यालय बाहिर रहेको पाइएको छ । सतप्रतिशत बालबालिका विद्यालय भर्ना गराउने योजनाका बाबजुद बालबालिका बिद्यालय बाहिरै रहेका छन् । कोर इन्टरनेशनलको आर्थिक सहयोग, मनहरी गाउँपालिकाको समन्वय तथा हिमराईट्स मकवानपुरको आयोजना भएको स्थानीय जनप्रतिनिधि तथा अभिभावकबीच अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले बालबालिकाहरु विद्यालय बाहिर रहेको भन्दै अझै खोजिकार्य गर्नुपर्नेमा जोड दिएका छन् । बालबालिकाहरु अनेकौं समस्याका कारण नियमित विद्यालय जान सकेका छैनन् । बिशेष गरी बालबालिका विद्यालय नजाने भन्दा पनि केही समय गएर छोड्ने गरेका बढी मात्रामा छन् ।

खासगरी ग्रामीण क्षेत्रमा बालबालिका विद्यालय नजानुमा उनीहरुको अभिभावक नै बढी दोषी छन् । आफ्नो नानीबाबुको पढाई कस्तो चलिरहेको छ भनेर बर्षदिनमा एकपटक पनि विद्यालय नटेक्ने अभिभावकका बालबालिकाले विद्यालयको पढाई बीचैमा छोड्ने गरेको पाइन्छ । आफ्नो नानीबाबुको पढाइप्रति सामान्य चासो र चिन्ता नगर्ने अभिभावकका बालबालिका नियमित विद्यालय पनि जादैनन् र उनीहरु परीक्षामा पनि सबैभन्दा कमजोर देखिन्छन् । पढाइप्रति चासो देखाउने र बेलाबेलामा विद्यालयमा आफ्नो नानीबाबुको हालखबर बुझ्न विद्यालय जाने गरेका अभिभावकका बालबालिकाले विद्यालयको पढाई बीचैमा छोड्ने गरेका छैनन् ।

अर्कोतर्फ मदिरा सेवन गरी घरमा दैनिक कलह हुने परिवारका बालबालिकाले पनि विद्यालयको पढाई बीचमै छोड्ने गरेका छन् । उनीहरुले विद्यालयको पढाइलाई निरन्तरता दिन नसक्नुको प्रमुख कारण घरको कलह नै हो । त्यस्तै परिवारमा अभिभावकको मृत्यु भएपछि वा सौता ल्याएपछि पनि बालबालिकाले पढाइलाई निरन्तरता दिन नसकेको घटना देखिएको छ । यस प्रकारका घटनामा बालबालिकाको दोष थोरै मात्र देखिन्छ । बालबालिका भनेको काँचो माटो जस्तै हो । जसरी कुमालेले काँचो माटोलाई कुनै पनि भाँडाको आकारमा ढाल्न सक्छ । त्यस्तै परिवारले पनि आफ्ना नानीबाबुलाई कस्तो बनाउने भन्ने बिषय महत्वपूर्ण हुन्छ । परिवारमा बाबुआमाले आफ्नो नानीबाबुलाई अनुशासन सिकाउनु पर्छ । संस्कार सिकाउनु पर्छ ।

२४ घण्टाको दिनमा ६ घण्टा विद्यालयमा अध्ययन गर्ने बालबालिका १८ घण्टा घरमा आफ्नो अभिभावकसँग रहने गर्छन् । विद्यालयमा दिइएको गृहकार्य गर्न लगाउने, पाठ्यपुस्तक बाहेकका पठनीय कितावहरु किनिदिने, नयाँ नयाँ खेलहरु सिकाउने, जीवनउपयोगी सीपहरु सिकाउने, कला, संस्कृति, धर्मका कुरा सिकाउने काम परिवारमै गर्न सकिन्छ । तर, पछिल्ला दिनमा बालबालिका मोवाइलमा मात्र ब्यस्त हुने गरेका छन् ।

मोवाइलमा बालबालिकाले के गरिरहेका छन् ? उनीहरुको रुची के कुरामा बढी छ ? परिवार आफन्त, नातागोतामा चिनाजान गराउने, आफ्नो बारेमा बताउने र अरुको कुरा सुन्ने बानी बसाउने आदि काम घरपरिवारमै अभिभावकले गर्न सक्छन् । तर, अभिभावक नै मदिरा सेवन गरी बालबालिकाको अगाडि दैनिक झगडा गरिरहन्छन् भने बालबालिकाको मानशिकता कस्तो होला ? विद्यालयमा पनि बालबालिकालाई शिक्षकले मायालु ब्यवहार गर्ने, नजानेको वा नबुझेको कुरा पटकपटक दोहो¥याइदिने,

अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागी गराउने हो भने विद्यालय छोडेर बालबालिका सडकमा आउँदैनन् । घरमा पनि कलह र विद्यालयमा पनि मायालु ब्यवहार पाएनन् भने बालबालिका बिचलित हुन्छन् र पढाइ छोडेर सडकमा आउँछन् । समाजका सबै क्षेत्रले बालबालिकालाई माया गरौं र उनीहरुको उज्ज्वल भविश्यका लागि बाटो देखाउने काम गरौं ।

यसमा तपाइको मत

Your email address will not be published.


*