फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालनको तयारी

साझाकुरा
२०७९ चैत्र २०, सोमबार १२:३४

हेटौंडा-फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन कार्यविधि–२०७९ स्वीकृत गर्दै हेटौंडा उपमहानगरले एकेडेमी र प्रशिक्षण केन्द्र सञ्चालनको तयारी गरेको छ ।निवर्तमान मेयर हरिबहादुर महतकै पालामा फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने तयारी गरिए पनि विविध कारणले रोकिएको थियो । महतको पालामा एन्फाका पूर्वअध्यक्ष गणेश थापाको कम्पनीसँग एकेडेमी सञ्चालनका लागि सहमति भएको थियो । तर, फिफाले भ्रष्टाचार अभियोगमा १० वर्ष निलम्बन गरेका थापासँग सम्झौता भएको समाचार बाहिरिएपछि उपमहानगरपालिका रोकिएको थियो । उपमहानगरपालिकाले थापासँगको सम्झौतासमेत रद्द गरेको थियो ।

त्यस यता फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालनमा आउन सकेको छैन । हेटौंडामा एकेडेमी सञ्चालनको योजना विगतका वर्षदेखि नै ल्याइएको थियो ।
तर, कार्यविधि स्वीकृत भएसँगै निकट भविष्यमै एकेडेमी सञ्चालन हुने भएको छ । हेटौंडाबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यसहित खेलकुद विकास र प्रवद्र्धनमा उपमहानगरपालिकाले प्राथमिकता राख्दै काम अघि बढाएको हो । सम्भवतः एकेडेमी तथा प्रशिक्षण केन्द्र हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा सञ्चालन हुनेछ । कार्यविधि स्वीकृतिसँगै नगरबाट खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालनको बाटो खुलेको छ । फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने कार्यविधि स्वीकृत भएको र मकवानपुर फुटवल संघसँग भने औपचारिक सम्झौता गर्ने प्रकृयामै रहेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

प्रवक्ता न्यौपानेका अनुसार जिल्ला फुटबल संघसँग सम्झौता हुने बित्तिकै काम अगाडि बढाउने उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा बजेट छुट्याएको समेत जनाए । कार्यविधिअनुसार उपमहानगरको १९ वटै वडामा रहेका १२ देखि १४ वर्ष उमेर समूहका महिला तथा पुरुष खेलाडी छनोट गरी एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ । उपमहानगर क्षेत्रका हरेक वडाबाट १÷१ जना महिला तथा पुरुष र यसै क्षेत्रका अब्बल खेलाडीसहित ४५ जनालाई बन्द शिबिरको प्रशिक्षणमा राखेर नियमित प्रशिक्षण, आवास, खानपान, शिक्षा र स्वास्थ्योपचार सुविधासहित एकेडेमी सञ्चालन गरिने उपमहानगरका प्रवक्ता न्यौपानेले बताए ।

एकेडेमीमा नगरका ४५ महिला तथा पुरुष खेलाडीलाई आवासीय सुविधासहित प्रशिक्षण गराउन उपमहानगरले चालु आवमा ७५ लाख रुपैयाँ विनियोजन गरेको हो । मकवानपुर जिल्ला फुटबल संघसंगको सहकार्यमा नगरप्रमुख मीनाकुमारी लामा संरक्षक रहेको एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन र अनुगमन समितिले एकेडेमीको कामलाई निगरानी र सुधारका लागि निर्देशन दिनेछ । फुटबलको उर्वरभूमि रहेको मकवानपुरमा सञ्चालित एकेडेमीबाट निस्किएका खेलाडीले राष्ट्रियस्तरमा नाम कमाउने विश्वास उपमहानगरले लिएको छ ।

जिल्लामा हुने राष्ट्रियस्तरका दुई ठूला प्रतियोगिताका लागि स्थानीय टोलीमा बाहिरका खेलाडी समावेश गराउनुपर्ने बाध्यतालाई एकेडेमीले पूरा गर्ने उपमहानरले अपेक्षा गरिएको छ । काठमाडौंमा जारी ए डिभिजन लिगमा मात्रै मकवानपुरका २० जना खेलाडी सहभागी छन् । राष्ट्रिय टिममा अञ्जन विष्ट र आयुष घलान छन् । मकवानपुरका फुटबलमा भविष्य बोकेका खेलाडी विदेशिने क्रम पनि जारी छ । मकवानपुरमा एउटा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ । जसमा हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*