तेस्रो कार्यकालका लागि पनि गौतम सर्बसम्मत

साझाकुरा
२०७९ चैत्र २०, सोमबार १२:३८

हेटौंडा-मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविको आइबार सम्पन्न अभिभावक भेलाले माधब गौतमलाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको छ । तेस्रो कार्यकालका लागि गौतमलाई अध्यक्ष चयन गरेको हो । भेलामा सहभागी बक्ताहरुले गौतमको नेतृत्वले विद्यालयको मुहार फेरिएको र अझै केही कार्यहरु अधुरा रहेकोले पुनः गौतमलाई नै नेतृत्वको जिम्मा दिन सुझाएका थिए ।

समितिका सदस्यहरुमा मंगलबहादुर मोक्तान, मुकुन्द सुबेदी, सीता नेपाली, बिष्णुमाया बल, कल्पना कार्की, शिक्षक प्रतिनिधि मनोज चौलागाईं चयन भएका छन् । मनहरी गाउँपालिका शिक्षा प्रमुख हरिचन्द्र सापकोटा, बिब्यस पूर्वअध्यक्ष पवन खड्कालगायतले विब्यस चयनमा सहजीकरण गरेका थिए । दुई कार्यकाल विब्यस अध्यक्षको नेतृत्व गर्दा गौतम अभिभावक, विद्यार्थी र शिक्षकका बीचमा लोकप्रिय बनेका थिए । त्यसैले तेस्रो कार्यकालका लागि पनि गौतम सर्बसम्मत भएका हुन् ।

गौतमले ब्यवस्थापन समितिमा रहेर राम्रो काम गरेको भन्दै मनहरी गाउँपालिकाले गाउँ शिक्षा समितिको सदस्यमा मनोनित गरेको थियो । विब्यस अध्यक्षहरुको तर्फबाट गौतमले गाउँ शिक्षा समितिमा प्रतिनिधित्व गरिरहेका छन् । स्रोत साधनको अभावमा पनि विद्यालय ब्यवस्थापन समितिमा रहेर उत्कृष्ठ काम गरेको भन्दै यसअघि बागमती प्रदेश सरकारले गौतमलाई गतबर्ष प्रदेशदीप प्रदान गरेको थियो । तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशदीप प्रदान गरेका थिए ।

यसअघि भेलालाई सम्बोधन गर्दै बागमती प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले पशुपतिनाथ माविको भौतिक र शैक्षिक विकासका लागि आफू सदैब लागिरहने बताए । विद्यालयको भौतिक प्रगति राम्रो भएको र आगामी दिनमा शैक्षिक उपलब्धी बृद्धि गर्नका लागि सबै पक्षले एकताबद्ध भएर लाग्न बानियाँले आग्रह गरे । विद्यालयको पुस्तकालय भवन निर्माण गर्न आफूले बोलेको ४० लाख रुपैयाँ सहयोग जारी राख्ने बताउँदै प्रमुखअतिथि बानियाँले दुखमा साथ दिन तयार रहेको बताए ।

विब्यस अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका शिक्षाप्रमुख हरिचन्द्र सापकोटाले पशुपतिनाथ माविको विद्यालय ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकमा सकारात्मक उर्जा रहेको बताए । शिक्षक, विद्यार्थी, अभिभावकबीचको समन्वय अझै जुझारु बन्न सकेको खण्डमा गाउँपालिकाकै उत्कृष्ठ विद्यालय बन्न सक्ने बताए ।

कार्यक्रममा मनहरी–४ का वडाध्यक्ष प्रकाश थापा, पूर्बवडाध्यक्ष ध्रुब खड्का, गाउँ शिक्षा समिति सदस्य ध्रुब सुनार, विब्यस पूर्बअध्यक्षहरु रामहरि ढकाल, चन्द्रबहादुर न्यौपाने, प्रधानाध्यापक भानुभक्त आचार्य, स्थानीय समाजसेबी शंकर न्यौपाने, उद्धब बिष्टलगायतले भेलालाई शुभकामना दिएका थिए । भेलामा अध्यक्ष माधब गौतम र शिक्षक अभिभावक संघका संयोजक ऋषिराम गौतमले प्रस्तुत गरेको प्रतिबेदन बहुमतले पारित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*