भगौडा सहकारीले निम्त्याएको त्राश

साझाकुरा
२०७९ चैत्र २२, बुधबार १२:२३

कुनैबेला सहकारी संस्था दर्ता गर्ने लहरै चलेको थियो । सहकारी खोल्ने, सेयर सदस्य बनाउने उनीहरुसँग मासिक, साप्ताहिक, दैनिक बचत संकलन गर्ने, आकर्षक ब्याज दिने प्रलोभन दिने काम हुने गरेको थियो । सर्बसाधारणसँग बचतका नाममा संकलन गरेको रकममा संचालकहरुले नयाँ बाइक÷गाडी किन्ने, टाइसुट लगाएर टिपटप बनेर हिंड्ने, बेलुकी महँगो रेस्टुरेन्टमा खानपिन आदिले १÷२ बर्षमा सहकारी टाट पल्टिसकेको हुन्थ्यो । बचतकर्ताले बचत फिर्ता माग्न आएको खण्डमा फास्ल्याङफुस्लुङ बनाएर पठाउने र धेरै दबाव आएपछि संचालकहरु भूमिगत हुने चलन थियो ।

धेरै सहकारीले जनबिश्वास गुमाएका थिए । त्यसको केही पछि सहकारीका संचालकहरुले सर्बसाधारणको बचतको पैसाले जग्गा दलालीको काम गर्न थाले । पछिल्लो २÷३ बर्ष यता आएर जग्गाको कारोबार पनि ठप्प भएको छ । सेयरबजार पनि एक बर्षदेखि ओरालो यात्रामा छ । सहकारीका संचालकहरुले गर्ने अतिरिक्त ब्यवसायमा मन्दी आएको छ । बाहिरी जिल्लामा दर्ता भई हेटौंडामा शाखाको रुपमा सञ्चालित सहकारीको कार्यबाट स्थानीय सहकारीलाई चुनौती थपिदिएको छ । हेटौंडामा सोमबार ६६ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा आयोजित सभामा सरोकारवाला निकायका प्रतिनिधिले बाहिरी जिल्लामा दर्ता भएरको सहकारीले हेटौंडामा शाखा खोलेर काम गरिरहेका बताएका छन् । उनीहरुले सानोतिनो समस्या आउनेबित्तिकै शाखा बन्द गरेर फिर्ता जाने गरेका छन् ।

शाखा स्थापना गरेर कार्यसम्पादन गर्दै आएका सहकारीको कारण स्थानीय सहकारीको विश्ससनीयतामा प्रश्न उठेको छ । बाहिरी जिल्लामा दर्ता भएर हेटौंडामा शाखा खोलेका सहकारीको कारण स्थानीय सहकारीप्रति समस्या भएको पाइएको हो । मकवानपुरका सहकारीहरु राम्रो छन् तर, अन्य जिल्लामा दर्ता भएर मकवानपुरमा सेवाकेन्द्र खोली कार्य गरेका सहकारीले सर्बसाधारणको रकम दुरुपयोगका कारण मकवानपुरका सहकारीलाई असर परेको हो । लोभ र बढी व्याजदरको प्रलोभनमानपरी आफ्नै नजिक रहेका सहकारीहरुमा कारोबार गर्न सबै सदस्यलाई आग्रह गरिएको छ । सहकारीले राम्रो कामहरु पनि गरिरहेका छन् । केही सहकारीले नराम्रो काम गरेमा त्यसले सिंगो सहकारी क्षेत्रलाई असर गरिरहेको छ । सहकारीले विषेशत गरिबी निवारणको क्षेत्रमा काम गरेर राज्यलाई सहयोग गरिरहेको छ । सहकारीको स्वनियमन गरी सुशासनमा रही काम गर्दा सहकारी क्षेत्रको विकासले गति लिन्छ ।

सदस्य केन्द्रित र समुदायप्रति चासो राखेर सहकारीले आर्थिक कारोबारको काम गर्नुपर्नेमा पछिल्लो समय सहकारीले गरेको लगानी उत्पादनमूलक क्षेत्रमा नभई अनुत्पादक क्षेत्रमा भइरहेकाले त्यसलाई रोक्न आवश्यक कदम चाल्नुपर्ने छ । सहरकारी संस्थाले सेयर सदस्यसँग बचत गरेको थोरैथोरै पैसालाई उत्पादनमूलक कार्यमा लगाउनु जरुरी छ । उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा त्यसबाट रोजगारी पनि सृजना हुनेछ । स्वदेशी कच्चापदार्थमा आधारित घरेलु उद्योगमा लगानी गर्न सकेको खण्डमा देशको ब्यापारघाटालाई केही हदसम्म घटाउन सकिन्छ । सरकारले सहकारी संस्थालाई सेयर सदस्यहरु आफैंले नियमन गर्ने ब्यवस्था गरेको छ । राम्रो काम गर्ने सहकारीले सेयर सदस्यहरुलाई आकर्षक बोनस पनि दिएको उदाहरण छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*