हेटौंडा कपडा उद्योग सञ्चालन गर्न नेकपा बहुमतको माग

साझाकुरा
२०७९ चैत्र २२, बुधबार १२:२६

हेटौंडा- नेकपा बहुमत मकवानपुरले हेटौंडा कपडा उद्योग पुनः संचालनमा ल्याउन माग गर्दै प्रदर्शन गरेको छ । अढाई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउन माग गर्दै प्रदर्शन गरिएको हो । मंगलबार दिउँसो पार्टीको ‘आत्मनिर्भर अर्थव्यवस्थाको जग खडा गरौँ, राष्ट्रिय उद्योगको संरक्षण, विकास र विस्तार गरौँ’ भन्ने राष्ट्रिय उद्योग संरक्षण अभियान अन्तर्गत हेटौंडास्थित कपडा उद्योगमा प्रदर्शन गर्दै उद्योग सञ्चालन र संरक्षण गर्न माग गरेको बताइएको छ ।

हेटौंडाको कपडा उद्योग तत्कालीन अवस्थामा अत्याधुनिक प्रबिधिको थियो । एउटै छानामुनी एकहजार जनाले रोजगारी पाएका थिए । एउटै उद्योगमा एकातिरबाट कपास हालेपछि अर्कोतिरबाट तयारी कपडा निस्कन्थ्यो । धागो बन्नेदेखि लिएर कपडा बनेर त्यसलाई कलरफूल बनाएर निकाल्ने एकमात्र उद्योग थियो हेटौंडा कपडा उद्योग । हेटौंडा कपडा उद्योगको उत्पादन गुणस्तरीय भएका कारण विद्यार्थीको विद्यालय पोशाकदेखि मजदुर, किसान, कर्मचारी, ब्यापारी सबैले मनपराएका थिए । २०५६ मा कपडा उद्योग ‘सटडाउन’ गराउने कार्यको जिम्मेवारी राजनीतिक दल र तिनका मजदुर संगठनले लिने कि नलिने ?

स्वदेशी कच्चापदार्थको प्रयोगबाट संचालन हुने अति उपयोगी स्वादेशी कपडा उद्योग धरासायी बनाइयो । उद्योगलाई सवलिकरण गर्दै लजाने भन्दा पनि भ्रष्ट्राचारको अखाडा बनाउने काम गरियो । २०५४÷५५ तिर हेटौंडा बजारमा १५ रुपैयाँमा पाईने कुचो (झाडु) खरिद गर्दा उद्योगमा ७५ रुपैयाँको बिल पुग्ने गरेको थियो । यो त सामान्य उदाहरण मात्र हो । हिसाव नमिलेपछि हरेक बर्ष कपडा उद्योगको कपास गोदाममा नाटकीय आगलागी हुने गरेको थियो । यसको जिम्मेवारी कस्ले लिने ?

हेटौंडाको कर्रा पुलबाट ¥यालीसहित उद्योग परिसर पुगेर कोणसभामा परिणत भएको कार्याक्रमलाई बहुमत पार्टीका जिल्ला इन्चार्ज धु्रब खड्काले सम्बोधन गरेका थिए । उनले सरकारले कमिसनको खेलमा निजी उद्योग सञ्चालनलाई प्रोत्साहन गरेर राष्ट्रिय उद्योगलाई धरासायी बनाएको बताए । हुन त नेकपा बहुमतको यो एजेण्डा सही हो ।
तर, बिद्यमान अवस्थामा हेटौंडा कपडा उद्योग संचालनमा ल्याउन सक्ने सम्भावना नरहेको बिज्ञहरुले बताउँदै आएका छन् । यो एजेण्डा अब थोत्रो भयो ।

सरकारले राष्ट्रिय उद्योगलाई संरक्षण नगर्दा अर्थतन्त्र धरासायी बन्दै गएको र राष्ट्र परजीवि अर्थतन्त्रतर्फ धकलिएको आरोप पार्टीले लगाएको छ । जुनसुकै दलले सरकारलाई
आरोप लगाउने भन्दा बाहेक केही परिबर्तन आएको छैन । भोलिका दिनमा सरकारले कपडा उद्योग संचालनमा ल्याएको खण्डमा तिनै
राजनीतिक दलहरुले उद्योगमा आन्दोलनको ज्वारभाटा ननिकाल्ने ग्यारेन्टी कस्ले दिन्छ ?

बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई सरकारले पुनः सञ्चालनमा ल्याएर स्वदेशमै रोजगारी सृजना गर्न पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ । पछिल्लो ८ महिनामा ५ लाख युवा रोजगारीको खोजीमा खाडी मुलुकमा छिरिसकेका छन् । तीनै युवाले पठाएको रेमिट्यान्सबाट हाम्रो समाजले दैनिक उपभोग्य बस्तु र सेवा खरिद गरिरहेको छ । हेटौंडा कपडा उद्योग संचालन गर्ने नाममा तत्कालीन सरकारका प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ८ करोड रुपैयाँ बिनियोजन गरेका थिए ।

भट्टराई सरकारले हेटौंडा कपडा उद्योग संचालन गर्ने अधिकतम प्रयास गरेको थियो । तर, बिज्ञहरुले यो सम्भव नहुने तर्क दिएका थिए । त्यसपछिका हरेक सरकाले हेटौंडा कपडा उद्योग संचालन गर्ने भन्दै जनताको आँखामा छारो हाल्ने काम गरिरहे । यतिबेला कपडा उत्पादन गर्ने प्रबिधिमा धेरै परिबर्तन आइसकेको छ । हेटौंडा कपडा उद्योगको खिया लागेर जीर्ण भएको मेशिनबाट अब कपडा उत्पादन गर्न सम्भव नरहेको बिज्ञहरुले बताएका छन् । फेरि पनि त्यही थोत्रो एजेण्डामा आन्दोलन गर्दा त्यसको उपलब्धी के होला ?

यसमा तपाइको मत

Your email address will not be published.


*