कपडा उद्योग राजनीतिक एजेण्डा मात्र

साझाकुरा
२०७९ चैत्र २३, बिहीबार ११:०६

अढाई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउन माग गर्दै नेकपा बहुमत मकवानपुरले प्रदर्शन गरेको थियो । चीन सरकारको सहयोगमा स्थापना भएको हेटौंडाको कपडा उद्योग तत्कालीन अवस्थामा अत्याधुनिक प्रबिधिको थियो । एउटै छानामुनी एकहजार जनाले रोजगारी पाएको त्यतिबेलाको एकमात्र उद्योग थियो । त्यसमा पनि अधिकांश महिलाले रोजगारी पाएका थिए । आर्थिक क्रियाकलापमा महिलालाई अगाडि बढाउने राज्यको सबैभन्दा ठूलो उद्योग बन्न पुगेको थियो हेटौंडा कपडा उद्योग ।

एउटै उद्योगमा एकातिरबाट कपास हालेपछि अर्कोतिरबाट तयारी कपडा निस्कन्थ्यो । धागो बन्नेदेखि लिएर कपडा बनेर त्यसलाई रंगीन बनाएर निकाल्ने एकमात्र उद्योग थियो हेटौंडा कपडा उद्योग । हेटौंडा कपडा उद्योगको उत्पादन गुणस्तरीय भएका कारण विद्यालय पोशाकको रुपमा ज्यादा माग थियो । हेटौंडा कपडा उद्यागेको उत्पादन मजदुर, किसान, कर्मचारी, ब्यापारी सबैले मनपराएका थिए ।

२०५६ मा कपडा उद्योग ‘सटडाउन’ गराउने कार्यको जिम्मेवारी राजनीतिक दल र तिनका मजदुर संगठनले लिनैपर्छ । २०४६ को राजनीतिक परिबर्तनपछिका दिनमा भ्रष्ट्राचार मौलाउँदै गयो । फलस्वरुप सरकारी स्वामित्वका औद्योगिक प्रतिष्ठान निशानामा परे । त्यसैको शिकार बन्न पुग्यो कपडा उद्योग । स्वदेशी कच्चापदार्थको प्रयोगबाट संचालन हुने अति उपयोगी स्वादेशी कपडा उद्योग धरासायी बनाइयो ।

उद्योगलाई सवलिकरण गर्दै लैजाने भन्दा पनि भ्रष्ट्राचारको अखाडा बनाउने काम गरियो । कपास खरिदमा भएको घोटाला मिलाउनका लागि हरेक बर्ष कपडा उद्योगको कपास गोदाममा नाटकीय आगलागी हुने गरेको थियो । यसको जिम्मेवारी कस्ले लिने ? विद्यमान अवस्थामा हेटौंडा कपडा उद्योग संचालनमा ल्याउन सक्ने सम्भावना नरहेको विज्ञहरुले बताउँदै आएका छन् ।

यतिबेला कपडा उत्पादन गर्ने प्रविधिमा धेरै परिवर्तन आइसकेको छ । हेटौंडा कपडा उद्योगको खिया लागेर जीर्ण भएको मेशिनबाट अब कपडा उत्पादन गर्न सम्भव नरहेको विज्ञहरुले बताएका छन् । फेरि पनि त्यही थोत्रो एजेण्डामा आन्दोलन गर्दा त्यसको उपलब्धी के होला ? यो एजेण्डा अब थोत्रो भइसकेको छ । राजनीतिक दलहरुलाई राजनीति गर्ने र मजदुरको भोट तान्ने एजेण्डा मात्र बनेको छ हेटौंडा कपडा उद्योग । जुनसुकै दल सत्ता बाहिर बस्दा सरकारलाई आरोप लगाउने भन्दा बाहेक केही परिबर्तन आउनेवाला छैन । सत्तामा पुगेको बेला कुर्सी जोगाउने ध्यान बाहेक अन्यत्र सोच्ने फुर्सद मिल्दैन ।

सत्ता बाहिर रहेको समयमा जनमत बढाउनका लागि कपडा उद्योग प्रमुख एजेण्डा बन्ने गरेको छ । भोलिका दिनमा सरकारले कपडा उद्योग संचालनमा ल्याएको खण्डमा तिनै राजनीतिक दलहरुले उद्योगमा आन्दोलनको ज्वारभाटा ननिकाल्ने ग्यारेन्टी कस्ले दिन्छ ? बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगका मेशिन र प्रविधिलाई परिमार्जन गरी सरकारले पुनः सञ्चालनमा ल्याएर स्वदेशमै रोजगारी सृजना गर्न जरुरी छ ।

पछिल्लो ८ महिनामा ५ लाख युवा रोजगारीको खोजीमा खाडी मुलुकमा छिरिसकेका छन् । तीनै युवाले पठाएको रेमिट्यान्सबाट हाम्रो समाजले दैनिक उपभोग्य बस्तु र सेवा खरिद गरिरहेको छ । हेटौंडा कपडा उद्योग संचालन गर्ने नाममा तत्कालीन सरकारका प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ८ करोड रुपैयाँ बिनियोजन गरेका थिए । भट्टराई सरकारले हेटौंडा कपडा उद्योग संचालन गर्ने अधिकतम प्रयास गरेको हो । तर, विज्ञहरुले यो सम्भव नहुने तर्क दिएका थिए । त्यसपछिका हरेक सरकाले हेटौंडा कपडा उद्योग संचालन गर्ने भन्दै जनताको आँखामा छारो हाल्ने काम बाहेक केही पनि गरेन ।

यसमा तपाइको मत

Your email address will not be published.


*