गणतन्त्रको सुदृढीकरण एमालेले गर्छः गुरुङ

साझाकुरा
२०७९ चैत्र २३, बिहीबार १५:२१

हेटौंडा-नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले देशको संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको सुदृढीकरण एमालेले गर्ने बताएका छन् ।
व्यवस्था परिवर्तनको कार्यभार पूरा भइसकेकोले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरणको लागि सामाजिक, आर्थिक, सांस्कृतिक रुपान्तरण आवश्यक रहेको र अभियानको नेतृत्व नेकपा एमालेले गरिरहेको गुरुङले दाबी गरेका छन् ।

नेकपा एमाले हेटौंडा–४ नम्बर वडा कमिटीद्वारा आयोजित मिसन ग्रासरुटअन्तर्गतको कार्यक्रममा बोल्दै नेता गुरुङले नेपालको राजनीतिमा नेकपा एमाले पहिलो पार्टी भएको बताए । संगठन संरचना, विस्तार, गतिविधि, राष्ट्रिय राजनीतिमा लिएको सहि अडान र संघीय निर्वाचन प्राप्त जनमतले नेकपा एमाले पहिलो पार्टी भएको उनको भनाई छ । राजनीतिमा जनताको गुम्दै गएको विश्वासलाई जगाउन नेकपा एमालेका हरेक कार्यकर्ताहरु क्रियाशील हुनपर्नेमा गुरुङको जोड रहेको थियो ।

पार्टी ४ नम्बर वडा कमिटी अध्यक्ष राजेन्द्रकुमार बास्ताकोटीको सभाध्यक्षतामा भएको भेलामा एमाले जिल्ला कमिटीका अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देलले प्रशिक्षणात्मक मन्तव्य राखेका छन् । कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य सुनिल मुक्तान, जिल्ला सदस्यहरु भवानी शर्मा, जगन्नाथ पाण्डे, शालिकराम ढकाल, उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, उपसचिवहरु जनरल श्रेष्ठ, उर्मिला श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*