चेपाङ बचाउ अभियानको ‘बुलाकी’ फिल्म च्यारेटी शो

साझाकुरा
२०७९ चैत्र ३०, बिहीबार १३:२०

हेटौंडा-राक्सिराङ गाउँपालिकाको निवर्तमान वडाअध्यक्ष रामकृष्ण चेपाङ बचाउ अभियानले आज हेटौंडामा ‘बुलाकी’ चलचित्रको च्यारेटी शो गर्दैछ ।मृगौलासम्बन्धी रोगबाट पीडित रामकृष्ण चेपाङ बचाउ अभियानका लागि रकम संकलनार्थ नेपाली चलचित्र बुलाकीको च्यारेटी हुने भएको हो । सामाजिक एवम् राजनीतिक व्यक्तित्वका रुपमा परिचित चेपाङ राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का निवर्तमान वडाअध्यक्ष समेत हुन् ।

उनी करिब एक बर्षदेखि मृगौलासम्बन्धी रोगबाट पीडित छन् । चेपाङको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले मृगौला प्रत्यारोपण गर्न नसकिरहेको अवस्थामा उनको सहयोगार्थ बिहिबार चलचित्र बुलाकी च्यारेटी गर्न लागेको रामकृष्ण चेपाङ बचाउ अभियानका संयोजक शंकर न्यौपानेले पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।

चेपाङको जीवनरक्षाका लागि नेपाली कांग्रेसका नेता रघुरमण न्यौपाने, आनन्दराम पराजुली, ईश्वर पाठक, ईन्द्रकुमार बर्तौला, उत्सव इटेनी, सुरेश थापा, सुशान्त श्रेष्ठ, नुरज पौडेल, गोपी दाहाल, सुरज बर्तौलालगायतको सक्रियतामा चेपाङ बचाउ अभियान सुरु भएको बताइएको छ । अभियानका संयोजक न्यौपानेले रकम संकलनका लागि नेपाली चलचित्र बुलाकीको च्यारेटी प्रर्दशन गर्न लागेको बताएका हुन् । च्यारेटीका लागि चलचित्र सहजीकरण र सहयोगी भूमिकामा कांग्रेसका क्षेत्रीय सभापति सुशान्त श्रेष्ठले गरेका छन् ।

आगामी वैसाख एक गतेबाट देशैभर प्रर्दशनमा आउन लागेको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन् । चैत्र ३० गते दिउँसो साढे दुईबजे ओम्याक्स सिनेमा हलमा चलचित्र प्रर्दशन हुने जनाईएको छ । एक हजार र दुई हजार दरका टिकट लिएर प्रर्दशन गरिन लागेको चलचित्र हेर्न आउन आयोजकले अनुरोध समेत गरेको छ । चेपाङ बचाउ अभियानमा सकेको सहयोग गर्न सबै हेटौंडाबासीमा संयोजक न्यौपानेले अनुरोध गरेका छन । च्यारेटीबाट उठेको रकम बिरामी चेपाङको उपाचारमा खर्च गरिने संयोजक न्यौपानेले बताए ।

चेपाङको उपचारका लागि करिब १० लाख रुपैयाँ खर्च हुने समेत बताइएको छ । पत्रकार सम्मेलनमा बिरामी चेपाङले आफ्नो लागि साथीभाइले गरेको यसप्रकारको सहयोगप्रति आभार व्यक्त गरेका छन् । सहयोगले आफूले नयाँ जीवन पाउने अपेच्छासमेत उनले गरे । बुलाकी चलचित्र कर्णाली भेगको जनजीवन र प्रथामा आधारित रहेको बताइएको छ ।

चलचित्रलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन भने यो चलचित्र नारीप्रधान कथानक चलचित्रका रुपमा चर्चामा छ । नयाँवर्ष अर्थात् ०८० बैशाख १ गते प्रदर्शन हुने चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त र बिराज विष्टका साथमा रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीले अभिनय गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*