‘नेता बनाउन हैन, समाज बदल्न लागौँ’

हेटौंडा आएर पोख्रेलको निर्देशन
साझाकुरा
२०८० बैशाख ३, आईतवार ०७:४६

हेटौंडा-नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोख्रेलले नेता बनाउन भन्दा पनि समाज बदल्न लाग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।एमाले हेटौंडा उपमहा नगरपालिका कमिटीको आयोजनामा भएको प्रशिक्षणसहितको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोख्रेलले पार्टीले नेता बनाउने नभई समाज रुपान्तरणको अभियानमा लाग्नुपर्ने भन्दै कार्यकर्तालाई यसतर्फ ध्यान दिन निर्देशन दिए ।

राजनीतिक दल समाज रुपान्तरणको पथप्रदर्शक रहेको भन्दै नेता बनाउने कार्यमा मात्र हिँड्न नहुने उनको तर्क थियो । उनले समाजलाई बदल्न एमालेका नेता तथा कार्यकर्तालाई मौन नबस्न र सत्यका पक्षमा बहस गर्न निर्देशन दिए । नेता पोख्रेलले चुनावमा आफ्नै उम्मेदवारलाई पनि भोट नहाल्ने समस्या एमालेमा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । ‘सँधै एमाले बनिरहने र चुनावमा भोट हाल्ने बेलामा अरु कसैको हुने चलनको अब अन्त्य हुनुपर्छ,’– उनले भने ।

पोखरेलले पछिल्लो समय सरकारका कारण देश चरम आर्थिक र राजनीतिक संकटमा फसेको दाबी गरे । देश संकटबाट गुज्रिरहनुको मुख्य कारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार रहेको उनको आरोप छ । कांग्रेस र माओवादीले अवलम्बन गरेको १५ महिनाको आर्थिक क्रियाकलापको परिणामले देश आर्थिक संकटबाट गुज्रिरहेको उनले कटाक्ष गरे ।

महासचिव पोखरेलले एमाले सरकारमा रहँदा मुलुकको अवस्था र बाहिरिँदा अहिले मुलुकको आर्थिक अवस्थाबारे जानकारी गराए । कर्मचारीलाई तलब खुवाउनका लागि ऋण लिनुपर्ने, खर्च र आम्दानीको बीचमा दुई खर्बको अन्तर हुनु, आम्दानी भन्दा खर्च दुई खर्ब ज्यादा हुनुले मुलुकको आर्थिक अवस्था संकटमा फसिसकेको स्पष्ट हुने उनको तर्क थियो ।

देश चरम आर्थिक संकटमा हुँदा व्यापारीको सम्पत्ति भने अर्बौं बढेको चर्चा उनले गरे । ‘एकजना व्यपारीको सम्पत्ति एक वर्षमा ४० अर्ब बढ्यो । देश संकटमा छ, देशको एउटा व्यापारी ४० अर्ब एक वर्षमा कमाइ गर्छ । कसरी सम्भव हुन्छ यो कुरा ?,’ नेता पोखरेलले भने । ‘तपाइँहरुले सुन्नुभएको होला, बजेट बनाउने बेलामा एकजना व्यापारीका एजेन्टलाई राखेर करका दरहरु हेरफेर गरियो भन्ने कुरा ।

बाहिर सार्वजनिक भयो, पछि त्यसलाई लुकाउनका लागि सीसीटीभीका फुटेजहरु, गायब पार्नका लागि तारहरु काटियो । त्यही घटनाको परिणाम एउटा व्यापारीको सम्पत्ति ४० अर्ब वृद्धि हुनु हो ।,’महासचिव पोख्रेलले गत प्रतिनिधिसभा निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एमालेको कोटाबाट टिकट दिने पार्टी नेतृत्वको निर्णयबारे खुलासा गरे ।

उनले स्थानीय तहमा देखिएको पार्टीको पराजय, राजतन्त्रको पक्षमा रहेको राप्रपाको उदयको संकेतसहित एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा रहेर नाकावन्दीको समयमा दिएको महत्वपूर्ण साथ तथा गणतन्त्रलाई स्वीकार गरेको कारण थापालाई एमालेले उम्मेदवार बनाएको बताए ।देशमा नाकाबन्दीको चर्को असर रहेको समयमा थापाले गरेको सहयोग निकै महत्वपूर्ण रहेको निश्कर्ष नेतृत्वले निकालेको र उनलाई एकपटक अवसर दिइएको उनको भनाई रहेको थियो ।

थापाले टिकट पाउँदा एमाले मकवानपुरको कार्यालयमा तालासमेत लागेको थियो ।नेता पोखरेलले जनताको प्रश्न देखेर रिसाउने र भाग्नेहरु जनताको नेता हुन नसक्ने दाबी गरे । उनले रवि लामिछानेतर्फ व्यंग्य गर्दै अरुलाई प्रश्न गर्न सहज भएको मान्नेहरु आफूलाई प्रश्न आउँदा भाग्दै हिँडेको बताए । ‘हिजो अरुलाई प्रश्न सोधनेहरु आज जनताबाट आएको प्रश्न देखेर भाग्न पाइन्छ ?’, उनको भनाई थियो ।

कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य पार्वत गुरुङ र नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले हेटौंडा र मकवानपुर जिल्लामा भएको ग्रासरुट अभियानका बारेमा प्रष्ट पारेका छन् । कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, प्रतिनिधिसभाका एमाले सचेतक महेशकुमार बर्तौलालगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*