सुशासन आशालाग्दो, राजनीतिक अस्थिरताले अस्तव्यस्त
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको एक सय दिन सार्वजनिक गरेका छन् ।२५ पुसमा मुख्यमन्त्री नियुक्त भएपछि सरकार निर्माणमा बनेको गठबन्धन फेरबदल भएसँगै दुई पटक विश्वासको मत लिएका उनले एक सय दिनलाई उपलब्धीका रुपमा लिएका छन् । तर, एक सय दिनभित्र उपलब्धी सामान्य देखिए पनि राजनीतिक अस्थिरताले भने प्रदेश सरकार अझै अस्तव्यस्त छ । वर्तमान सत्ता गठबन्धनभित्र असन्तुष्टि, भागबण्डाका कारण ५ वटा मन्त्रालय मन्त्रीविहीनलगायतका समस्या देखिएको छ । दोस्रो पटक १० चैतमा विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेलले २५ गतेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । ११ सदस्यीय मन्त्रिपरिषद्मा हालसम्म माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका २ जना मात्रै मन्त्री छन् ।
तर, विगतमा १४ वटा मन्त्रालयबाट ११ वटा मन्त्रालय बनाउने निर्णय भने मुख्यमन्त्री जम्कट्टेलले सुरुवातमै गरेका थिए । उनले सुशासनमा आफू नेतृत्वको सरकार गम्भीर भएर लाग्ने बताएका थिए । उनी सरकारमा आएपछि वर्षौदेखि अलपत्र विकास आयोजना निर्माण सुरु भएको थियो । अलपत्र योजनाको ठेक्का रद्दसमेत भएका छन् । सकारात्मक सुशासन स्थापनाका लागि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार निरन्तर काम गरिरहेको हो । उनले सार्वजनिक गरेको १०० दिने उपलब्धिको ८० बुँदे प्रतिवेदनमा केही नीतिगत निर्णय बाहेक अन्य सबै प्रक्रियागत काम समावेश गरिएको छ । उनले प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ कायम गर्नु, प्रदेश सरकारको सार्वजनिक खर्चमा २० देखि ३० प्रतिशत कटौतीको निर्णयलाई प्रमुख उपलब्धिका रुपमा लिएका छन् ।
२५ पुसमा जम्कट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यसको करिब २ महिनामै उनले गठबन्धन फेरबदल गर्नुपरेको थियो । सरकारको जिम्मेवारी सम्हालेको १६ दिनमा सरकारलाई पूर्णता दिएका उनले राष्ट्रपति निर्वाचनमा सत्ता समिकरण बदलिएपछि जटिलता भोग्दै आएका छन् । गत फागुन १० मा सत्ता समिकरण बदलिएसँगै राप्रपाले १३ गते सरकार छाड्यो भने एमालेले गत चैत १० गते सरकार छाड्यो । मुख्यमन्त्री जम्मकट्टेलले अब छिट्टै प्रदेश सरकारले पूर्णता पाउने पनि बताए । मन्त्रालयको संख्या कुनैपनि हालतमा नथपिने र अहिले भइरहेका मन्त्रालयलाई नै सत्ता साझेदार दलबीच भागबण्डा मिलाइने उनको भनाई थियो ।
मुख्यमन्त्री जम्कट्टेलले कसय दिनको उपलब्धी सार्वजनिक गर्ने क्रममा सरकारको क्षमता अनुसार काम गर्ने इच्छा हुँदा हुँदै पनि राजनीतिक परिवेशका कारण गर्न नसकिएको गुनासो गरे । उनले केन्द्रदेखि प्रदेशसम्म रहेको सरकारको अंकगणितमा सबैलाई मिलाउनु पर्ने भएकाले केही कामहरु गर्न समस्या भएको उनले बताए । वर्तमान अवस्थाको बदलिँदो राजनीतिक परिवेशमा सरकारले १०० दिनमा सन्तोषजनक काम गरेको उनको भनाइ थियो । जम्कट्टेलले कसय दिनको उपलब्धी सार्वजनिक गर्दै सरकारको सय दिनमा उल्लेख्य उपलब्धी भएको बताए ।
प्रदेश सरकारले एकसय दिनमा गरेका उपलब्धी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले संचारकर्मीलाई जानकारी गराएका थिए । प्रदेश सरकारले एकसय दिनको अवधिमा शिक्षा, सामाजिक, युवा र खेलकुदका, स्वास्थ्य, कृषि, पूर्वाधार विकासका क्षेत्र, रोजगार तथा यातायात क्षेत्र, पर्यटन, उद्योग तथा सहकारी क्षेत्र, वन तथा वातावरणका क्षेत्र, आन्तिरिक मामिला तथा कानून र विपद्का क्षेत्र, सार्वजनिक प्रशासन एवं कर्मचारी व्यावस्थापनका क्षेत्रमा भएको उपलब्धीबारे जानकारी गराइएको थियो ।
थप ६० विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम बिस्तार, रत्ननगर, रामेछाप, मेथिनकोट, काभ्रे, बज्रबाराही, भक्तपुर, टोखा चण्डेश्वरी, दोलखा अस्पताललाई (क) वर्गको सुबिधासम्पन्न एम्बुलेन्स उपलब्ध गराइएको पनि मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । जम्कट्टेलले कार्यकालको १०० दिने उपलब्धिको रुपमा केही नीतिगत निर्णय र प्रक्रियागत कामलाई समावेश गरेका छन् । प्रदेश सरकारको सेवा जिल्लाबाट एकीकृत रुपमा प्रवाह गर्न कार्यदल निर्माण, हेटौंडा–भीमफेदी–काठमाडौँ छोटो दुरीको मार्ग स्तरोन्नतिको कामलाई तीव्रता दिन प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयलाई उनले उपलब्धिको रुपमा लिएका छन् ।
६० विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम विस्तारका लागि नर्स छनौट, प्रदेशका ७ अस्पताललाई ‘क’ वर्गको एम्बुलेन्स वितरण, कशोरकिशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन, भक्तपुर र मकवानपुरका बाल सुधारगृहमा आश्रित २ सय ४९ जना बालकका लागि ३ दिने तालिम, ५१ जना लैंिगक तथा यौनिक अल्पसंख्यकहरुका लागि १० दिने तालिम, प्रदेश युवा परिषद्बाट १३ जिल्लाका २६ जनालाई महिला आत्मरक्षासम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम, चेपाङ र माझी समुदायले मनाउने पर्वमा सार्वजनिक बिदा, प्रदेश सरकारविरुद्ध परेका १२ मुद्दाको फैसलाजस्ता कामलाई मुख्यमन्त्री जम्कट्टेलले उपलब्धिका रुपमा समावेश गरेका छन् ।
उनले नेवारी र तामाङ भाषालाई कामकाजको भाषा बनाउन कार्यदल गठन गरी अध्ययन गर्ने, सिँचाइका लागि ३६.८२ किलोमिटर क्यान लाईनिङ निर्माण, प्रदेशभित्रका नदी नियन्त्रणका लागि १६ दशमलव ३ किलोमिटर तटबन्ध, ५१ वटा सडक पुल र ३ वटा भवन बहुवर्षीय योजनाका लागि छनौट, २५ किलोमिटर कालोपत्रे, २० किलोमिटर ढलान, १७ किलोमिटर ग्राभेल सडक निर्माणलाई उपलब्धिका रुपमा चित्रण गरेका छन् । यसैगरी ९ वटा कल्भर्ट, एक झोलुङ्गे पुल, २० वटा भवन, ५० वटा जनता आवास इकाई भवन निर्माण, प्रदेशका १३ जिल्लाका १० लाख १८ हजार ३ सय २१ भेँडा बाख्रालाई पीपीआर खोप प्रदान गर्नु पनि उपलब्धि रहेको उनले उल्लेख गरे ।
प्रदेश निजामती सेवा ऐन २०७९ र स्थानीय तहको सेवा गठन तथा सञ्चालनसम्बन्धी ऐन २०७९ जारी गर्नु, विपद् व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन प्रदेश गोदाम घर व्यवस्थापन कार्यविधि २०७९ जारी गर्नु, प्रदेशबाट जारी भएका कानुनलाई संग्रहित गरी बागमती प्रदेश ऐन तथा नियम संग्रह २०७९ प्रकाशन, सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका संशोधन गरी ग्रेडिङ सिस्टम लागू गर्नु, प्रादेशिक संरचना निर्माणका लागि हेटौंडा–१७ मा जग्गा भोगाधिकारका प्रक्रियाका लागि इआइए गर्ने लगायतलाई उनले उपलब्धिको रुपमा समावेश गरेका छन् ।