निकुञ्जको मध्यवर्ती क्षेत्र खारेजदेखि ठूला नेतालाई नछोड्न माग

सदनमा बर्तौला र सिंहको गर्जनः
साझाकुरा
२०८० बैशाख ७, बिहीबार ०७:३३

हेटौंडा- मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ बाट निर्वाचित सांसद दीपकबहादुर सिंह र महेशकुमार बर्तौलाले सदनमा स्थानीयका जल्दोबल्दो आवाज उठाएका छन् ।नेकपा एमालेका सचेतक समेत रहेका सांसद बर्तौलाले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्न माग गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत् मनहरी गाउँपालिकाको अधिकांश क्षेत्र पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तीमा पर्दछ । निकुञ्जको मध्यवर्ती क्षेत्रका कारण मनहरीका स्थानीय र निकुञ्जका सैनिकबीच पटक–पटक विवाद र झडप हुने गरेको छ । केही समयअघि पर्साबाट आएको हात्तीले मनहरीकै एक महिलाको मृत्यु हुनुका साथै चितवन निकुञ्जले लोथर नजिक सुनाचुरीका अव्यवस्थित बसोबासीको घर भत्काइदिएको थियो ।

पर्सा निकुञ्जको मध्यवर्ती क्षेत्र हेटौंडा उपमहानगरपालिकाको १५, १४, १२, १३ नम्बर वडासम्म पर्छ । यस क्षेत्रका बासिन्दाले जंगली जनावारको डर, त्रास र विकास निर्माणका काममा समेत अवरोध भइरहेको भन्दै मध्यवर्ती क्षेत्रबाट हटाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । जनताकै भावनालाई सांसद बर्तौलाले बुधवारको प्रतिनिधिसभा बैठकमा मध्यवर्ती क्षेत्र खारेजीको माग राखेका हुन् ।

उनले पर्सा राष्ट्रिय निकुञ्जको सीमाना हेरफेर गर्न र मध्यवर्ती क्षेत्र खारेज गर्न माग गरेका हुन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सचेतक बर्तौलाले मकवानपुर क्षेत्र नम्बर २ को मनहरी गाउँपालिका र हेटौँडा नगरपालिका वडा नम्बर १२, १३, १४ र १५ वडा नम्बरमा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको कारणले गर्दा निकै लामो समयदेखि त्यहाँका जनताले समस्या भोगिरहेको जानकारी गराएका छन् ।

उनले पर्सा राष्ट्रिय निकुञ्जको हेरफेर र मध्यवर्ती क्षेत्रको खारेजीको विषय त्यहाँका जनताको माग रहेको बताए । मध्यवर्ती क्षेत्रका कारण आफ्नो आँगन भत्कँदा खोलाबाट बालुवा ल्याउन समेत नपाउने, पालिका भित्रको गिटी बालुवा झिक्न पनि अनुमति लिन आधाभारस्थित राष्ट्रिय निकुञ्ज कार्यालयमा जानुपर्ने र एक ट्याक्टर बालुवा
पाउने अवस्था रहेको बताए ।

साथै निकुञ्जको वार्डेन आतंकबाट त्यहाँका जनताहरु प्रताडित रहेको बर्तौलाले बताए ।‘त्यहाँका जनतालाई यो देशमा राष्ट्रपति को हुन्छ ? प्रधानमन्त्री को हुन्छ ? मन्त्री को हुन्छ ? भन्नेमा सरोकार रहेनछ, त्यहाँको सरोकार भने वार्डेन को आउँछ ? वार्डेन आंतकबाट त्यहाँका जनताहरु अहिले पनि प्रताडित हुनुपर्ने, वन्यजन्तुबाट आक्रमणबाट एक प्रकारको निशानामा परिरहनुपर्ने अवस्थालाई अब अन्त्य गर्नुपर्छ । त्यसबारेमा मैले पनि अध्ययन गरेँ, अहिले पनि त्यहाँ एक किसिमले आर्मीको शासन रहेको छ ।’,

उनले भने । बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्यक नरहेको र त्यसलाई खारेज गर्न सरकारको ध्यानाकर्षण गराए । उनले निकुञ्जको सीमा हेरफेरका लागि विशेष संसदीय समिति बनाउन पनि माग गरे । मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका निवर्तमान उर्जा, जलश्रोत राज्यमन्त्री दीपकबहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला दलका नेताले गरेको भ्रष्टाचारका मुद्दालाई तामेलीमा राखेर काम नगर्ने गरेको आरोप लगाए ।

बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले सेक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचार मुद्दामा तल्लो तहका कर्मचारीबाहेक अरुको बयान लिएको आफूले थाहा नपाएको बताए । कारबाहीमा खरिदार सुब्बामात्र परेको र योजनाकारहरु एकजना पनि नपरेको उनले बताए ।‘अख्तियारले पनि राजनीतिक प्रभावबाट डराइकन, पद जान्छ कि भनेर डराई, महाभियोग लाग्छ कि भनेर डराई खुट्टा कमाउनुभएन भनेर म सभामुख महोदयलाई भन्न चाहन्छु ।

हिजोको सरकारले ७ दिनभित्रै विदेशी कम्पनीलाई राष्ट्रिय परिचयपत्र रुजु गर्ने काम विदेशी कम्पनीलाई दियो । अहिलेको सरकारले त्यसलाई रोकेर अर्को कोशिसमा लागिरहेको छ । हिजोको सरकारले गलत गरेको छ भने कारबाही गर्नुपर्छ, नाङ्गेझार पार्नुपर्छ ।’, उनले ठूला दलका नेतालाई लागेको भ्रष्टाचारको मुद्दा माफी र तामेलीमा राखेर जाने
हो भने यस्तो प्रक्रिया कहिलेसम्म चल्छ ? भन्दै प्रश्न गरे । ललिता निवास जस्ता खरबौँ खरबका भ्रष्टाचारका मुद्दा परेपनि ठूला नेता रहेकोले कारबाही गर्न अख्तियारले खुट्टा कमाएको उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*