अनुदान दुरुपयोग प्रकरणः ६१ लाख बढी रकम असुली प्रक्रियामा

साझाकुरा
२०८० बैशाख ८, शुक्रबार ०८:५०

हेटौंडा- हेटौंडा औद्योगिक क्षेत्रभित्र वधशाला सञ्चालन गर्ने भन्दै प्रदेश सरकारसँग लिइएको ६१ लाख बढी अनुदान रकम दुरुपयोग भएको पाइएपछि असुली प्रक्रिया अगाडि बढाइएको छ ।बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले औद्यागिक क्षेत्रभित्र वधशाला सञ्चालन गर्ने भन्दै बफेलो क्वालिटी फुड प्रालिलाई २०७६ सालमा ६१ लाख २९ हजार बढी रकम अनुदान दिएको थियो ।

उक्त अनुदान रकम दुरुपयोग भएको देखिएपछि मन्त्रालयले लामो समयको अध्ययन पश्चात रकम असुलउपरका लागि कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय काठमाडौंलाई पत्राचार गरेको थियो । कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले रकम असुली प्रक्रिया अनुसार २३ चैतमा कम्पनीको नाममा ३५ दिने सूचना जारी गरेको छ ।अनुदान रकम लिएपछि थोरै समयमा फलामका संरचना ठड्याएर बफेलो क्वालिटी फुड कम्पनी गायब भएपछि घटना बाहिरिएको थियो ।

प्रदेशसभाको सार्वजनिक लेखा समितिले अनुदान दुरुपयोग भएको ठहर गर्दै मन्त्रालयलाई असुलउपर गर्न पत्राचार गरेपछि मन्त्रालयले कम्पनीको नाममा ३५ दिने सूचना जारी गरेको छ । वधशाला सञ्चालन गर्ने भन्दै कम्पनी नै मन्त्रालयसँग अनुदान माग्न आएको थियो । त्यतिबेला कम्पनीले वधशाला सञ्चालन गरेर मासु निर्यातमा चमत्कारिक काम गर्ने मौखिक बनावटी योजना देखाएर अनुदान रकम कुम्ल्याएको थियो ।

बफेलो क्वालिटी फुड कम्पनी मुस्लिम आयोगका अध्यक्ष समिममिया अन्सारीको हो । वधशाला उद्घाटनमा उनै प्रमुख व्यक्तिका रुपमा उस्थित थिए । तर, मन्त्रालयसँगको सम्झौता भने कम्पनीको प्रतिनिधिका रुपमा सैयद रियाजउद्धिनले गरेका छन् । साविकको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग हेटौंडा औद्योगिक क्षेत्रमा वधशाला सञ्चालन गर्ने भन्दै १६ जेठ ०७६ मा सम्झौता भएको थियो ।

वधशालाको कुल परियोजना लागत १ करोड ४२ लाख ८४ हजार रहेकोमा सम्झौताअनुसार वधशाला सञ्चालनको लागत अनुमानअनुसारको रकमको ५० प्रतिशत बढीमा ७१ लाख ४२ हजार भुक्तानी हुने भनिएको थियो । तर, बफेलो क्वालिटी फुडले १ करोड ३१ लख १९ हजार ५ सय २४ रुपैयाँको सञ्चालन खर्च पेस गरेपछि ६१ लाख २९ हजार १ सय ६३ सय रुपैयाँ अनुदान पाएको थियो ।

सम्झौतामा अनुदान रकम दुरुपयोग हुन सक्ने देखेमा एक पटकलाई सचेत गराउने र सुधार नदेखिएमा एकपक्षीय रुपमा सम्झौता भंग गर्ने तथा हिनामिना भएबराबरको रकम दोस्रो पक्ष (बफेलो क्वालिटी फुड)बाट सरकारी बाँकी सरह असुलउपरको प्रक्रिया अगाडि बढाउन सक्ने उल्लेख छ । तर, निर्माण गर्ने भनिएको उद्योगले मन्त्रालयको अनुदान रकम पाएसँगै ३ वर्ष १० महिनादेखि गायव भएको हो ।

सरकारको अनुदान पाएपछि हाल कम्पनी गुमनाम छ । उक्त उद्योगले उत्पादन गर्ने भनिएको स्थानमा भौतिक संरचना नै छैन । उद्योगले आफ्ना मेसिनहरु बिक्री
गरेर गायब भएको हो । उक्त उद्योग खोल्ने भनिएको स्थानमा हाल एसियन पेन्ट्स कम्पनीले भाडामा लिएर आफ्नो काम गरिरहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख भोजराज बिनाडीले जानकारी दिए ।

यसअघि प्रदेशभर विस्तारित कृषि अनुदानको अनुसन्धान गर्न गठित कृषि अनुदान वितरण छानबीन उपसमितिले लेखा समितिलाई वधशालामा अनुदान हिनामिना भएको प्रमाणसहित प्रतिवेदन पेश गरेको थियो । प्रदेशको सार्वजनिक लेखा समितिले वधशाला खोल्ने नाममा सरकारी अनुदान दुरुपयोग भएको ठहर गर्दै छानबीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा परिपत्रसमेत गरेको थियो ।

अख्तियारले पनि छानबीन गरिरहेको छ । लेखा समितिले छानबीन उपसमितिको अनुसन्धान प्रतिवेदनका आधारमा अनुदानग्राहीले सम्झौताविपरीत कार्य गरी अनुदान दुरुपयोग गरेको भन्दै असुलउपर गर्न मन्त्रालयलाई निर्देशन समेत समेत दिएको थियो ।तर, मन्त्रालयले कम्पनीलाई सम्पर्क गर्न खोज्दा बफेलो फुड प्रालि सम्पर्कमै नआएपछि अन्ततः मन्त्रालयले गत चैत २० गते संघीयसरकार अन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा अनुदान रकम असुल गरिदिन भन्दै पत्र पठाएको थियो ।

केन्द्रीय तहसिल कार्यालयले पनि उक्त अनुदान रकम बुझाउन भन्दै सैयद रियाजउद्धिनको नाममा गत चैत २३ गते ३५ दिने सूचना जारी गरेको हो । ३५ दिने सूचना जारी गरेको
कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा हालसम्म सम्पर्कमा नआएको कार्यालय प्रमुख नमुना कार्की दाहाले जानकारी दिइन् । सूचना अटेर गर्दे तोकिएको समयमा सरकारी बाँकी रकम नबुझाए आर्थिक कार्याविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ४८ तथा आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन, नियमावलीअनुसार कारबाही हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*