थाहाकी दिनालाई दुई स्वर्ण

साझाकुरा
२०८० बैशाख ८, शुक्रबार ०८:५६

हेटौंडा-थाहा नगरपालिका घर भएकी दिना गोपालीले प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डमा दुई स्वर्ण हात पारेकी छन् ।थाहा–६, स्थित इअन एकेडेमीमा अध्ययरत् दिना गोपालीले बागमती प्रदेशस्तरीय महिलातर्फको १०० मिटर र २०० मिटर दौड प्रतियोगितामा स्वर्ण पदक हात पारेकी हुन् । पुस २०७९ मा बज्रबाराही माविमा भएको नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको छनोट चरणमा उत्कृष्टता हासिल गर्दै ७ फागुन २०७९ मा मकवानपुर जिल्लास्तरीय छनोट चरणमा समेत गोपालीले उत्कृष्टता कायम गदै बागमती प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट चरण पार गरेकी थिइन् ।

जिल्लाबाट छनोट हुँदै बागमती प्रदेशस्तरीय प्रतियोगिताबाट २ स्वर्ण हात पारेकी गोपाली दौड प्रतियोगितासँगै पढाइमा समेत अब्बल रहेको एकेडेमीका शिक्षक सुनिल महर्जनले बताए । राष्ट्रियस्तरको प्रतियोगिताको तयारीका लागि हेटौंडामा तालिममा सहभागी हुन गोपालीलाई पठाइने महर्जनले बताए । थाहा नगरको एकमात्र प्रतिनिधित्व खेलाडी दिना गोपालीको अपार सफलताले थाहा नगरबासीहरु हर्षित रहेको महर्जनले बताए । प्रदेशस्तरीय रनिङशिल्डमा गोपालीको दुई सहित मकवानपुरले कूल ६ स्वर्ण जोड्दै प्रदेशका १३ जिल्लामध्ये तेस्रो भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*