द्रुतमार्गको म्याद थप

साझाकुरा
२०८० बैशाख ८, शुक्रबार ०८:५७

सरकारले काठमाडौं–तराई÷मधेस द्रुतमार्ग आयोजना (फास्ट ट्रयाक) को निर्माण अवधि ३ वर्ष थपेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले समयमा काम नसकिने भन्दै निर्माण अवधि थप्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको निरीक्षणगरेर फर्केपछि फास्ट ट्रयाक निर्माणको समय थप्ने निर्णय गराएका हुन्। प्रचण्डले नै द्रुतमार्ग आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिएका थिए । पछिल्लो संशोधित तालिका अनुसार सेनाले २०८० मंसिरभित्र काम सक्नु पर्दथ्यो। तर, २२ प्रतिशत मात्रै भौतिक प्रगति भएपछि सेनाकै अनुरोधमा सरकारले २०८३ चैत मसान्तसम्म समय थप्ने निर्णय गरेको हो ।

अहिले ११ वटा प्याकेजमा मास्टर प्लान बनाएर काम भइरहेको छ । तीनवटै सुरुङमार्ग र सडकको काम भइरहेको छ । अपेक्षित गतिमा काम भने हुन सकेको छैन ।
२०७४ मा प्रचण्ड नेतृत्वकै सरकारले नेपाली सेनालाई फास्ट ट्रयाकको जिम्मेवारी दिएको हो । काम दुत गतिमा भइरहेको भन्दै प्रम प्रचण्डले नेपाली सेना र निर्माण कम्पनीलाई धन्यवाद दिएका थिए । काठमाडौंबाट तराई–मधेस जोड्ने द्रुतमार्गअन्तर्गत कूल सडकलाई ११ वटा खण्डमा विभाजन गरी नेपाली सेनाले निर्माण कार्य अघि बढाए पनि हाल ७ वटा खण्डको मात्र काम भइरहेको छ । अन्य ४ खण्डको अझै ठेक्का लाग्न सकेको छैन ।

११ वटा खण्डमध्ये हाल मकवानपुर र बारातर्फका ७ वटाको काम भइरहेको छ भने ललितपुरतर्फको ४ वटा खण्डको ठेक्का लगाउन बाँकी रहेको हो । हाल मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारबाट दक्षिणतर्फ बाराको निजगढसम्म १–७ नम्बर खण्डको ठेक्का लागेर काम भइरहेको छ भने ललितपुर र काठमाडौं (उत्तरतर्फ) को ८–११ नम्बर खण्डको ठेक्का हुन नसकेको हो । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा बाराको निजगढबाट फास्ट ट्रयाकको शिलान्यास गरेका थिए ।

तराईलाई संघीय राजधानीसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएका कारण यस आयोजनालाई गौरवको आयोजनामा राखिएको छ । फास्ट ट्रयाकको कुल भूभागमध्ये बारामा ७.६, मकवानपुरका ५३, ललितपुरमा ७.९ र काठमाडौंमा ४ किलोमिटर पर्दछ । ७२.५ किलोमिटर लम्बाइको काठमाडौं–तराई मधेस द्रुतमार्ग नेपाली सेनाले २०७४ साउन २७ मा जिम्मा पाएको हो । आर्थिक वर्ष २०७४÷७५ मा सुरु भएको आयोजना २०८० सालको पुससम्ममा पूरा गर्ने लक्ष्य लिइएको थियो । तर, निर्धारित समयमा काम नसकिने पक्का भएपछि सरकारले ३ वर्ष म्याद थपिदिएको हो ।

दु्रतमार्गको काम मेलम्ची, हुलाकी राजमार्ग जस्तो नहोस् भन्ने चाहना नेपालका यातायात ब्यवसायीहरुको छ । द्रुतमार्ग निर्माण सम्पन्न भएर संचालनमा आएको खण्डमा नेपालको यातायात क्षेत्रमा कायापलट नै हुनेछ । मकवानपुर बारातर्फको ४६ किमिको ठेक्का लागेर काम भइरहेको छ । ४६ किमिमध्ये १३ किमि बाटोको डिजाइनको काम भइरहेको छ । सो खण्डअन्तर्गत ३ वटा सुरुङ मार्गहरु छन् । जसमध्ये सबै सुरुङको काम भइरहेको छ ।

मकवानपुरको महादेवटार, धेद्रे र लेनडाँडामा ३ वटा सुरुङ ६.४१ किलोमिटर लम्बाइको रहने छ । दुईतर्फ सवारी सञ्चालन गर्ने गरी २८ वटा साना ठुला पुल निर्माण गरिँदैछ । अधिकांश पुलको बेसमेन्टको काम सम्पन्न भई स्पान ढलानको काम सुरु भएको छ । बर्षात सुरु हुनु अघि नै पुलको जमिनमुनीको काम सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*