हेटौंडामा घनश्यामले भने,‘एकीकृत समाजवादीलाई सबैले अप्ठेरोमा पारे’

साझाकुरा
२०८० बैशाख ९, शनिबार ०७:०७

हेटौंडा- घनश्याम भुषालले नेकपा (एकीकृत समाजवादी)लाई ठूला भनिएका सबै दलहरु र तीनका नेताहरुले अप्ठेरोमा पारेको आरोप लगाएका छन् । हेटौंडामा शुक्रबार पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का महासचिव भुषालले नेकपा एमाले, कांग्रेस र माओवादीका केही नेताहरु एकीकृत समाजवादीलाई अप्ठेरो पार्न सक्रिय भएको आरोप लगाएका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरे । ओलीले एकीकृत समाजवादीलाई बिगार्न साम, दाम, दण्ड, भेद प्रयोग भएको आरोप लगाएका छन् । ‘मैले यसो किन भन्दैछु भने, ओलीजीसँग मूल्य मान्यता, सिद्धान्त, राजनीति, नैतिकता, लाज, घीन केही चिज छैन । जे पनि गर्दिनुहुन्छ उहाँ’, भुषालले भने । शनिवार एमालेमा प्रवेश गर्ने लागेका मुकुन्द न्यौपाने समूहप्रति लक्षित गर्दै भुषालले अझै जानुपर्ने बताए । एमालेमा जानेहरु अझै बढ्न सक्ने भन्दै उनीहरुलाई जान दिनुपर्ने उनको भनाई थियो ।

माओवादीका नाममा केही नेताहरु एकीकृत समाजवादीलाई बिगार्न लागेको उनको आरोप थियो । कांग्रेसको दुःखको रुपमा विश्लेषण गर्दै कांग्रेस पार्टीको रुपमा निर्माण नै नभएको भुषालले टिप्पणी गरेका छन् । एकीकृत समाजवादीलाई गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा सरकारका सन्दर्भमा ठूला दलहरुले अप्ठेरोमा पारेको टिप्पणी गर्दै कांग्रेसलाई पार्टीको रुपमा निर्माण नै नभएको आरोप लगाएका हुन् ।

आफ्नो दललाई अप्ठेरो पार्ने एमाले र माओवादीप्रतिको कटाक्षपछि बोल्दै भुषालले भने, ‘कांग्रेस त भइगयो फेरि । कांग्रेस नचिनेको पार्टी होइन । कांग्रेसको आफ्नै दुःख छ । कांग्रेस एउटा पार्टीको रुपमा निर्माण नै भा’छैन ।’, कांग्रेसभित्र खास कुनै मुद्दाहरुमा एकता र प्रतिबद्धता नै नहुने गरेकोले पार्टीको रुपमा निर्माण हुन नसकेको उनको तर्क थियो । ‘पार्टीभित्र एकता र प्रतिबद्धता हुनुपर्छ, त्याहाँ कुनै एकता र प्रतिबद्धता नै हुँदैन, त्यसैले पार्टीको रुपमा निर्माण हुन सकेकै छैन’, उनले भने । चुनावका बेलामा हरेक कांग्रेस स्वतन्त्र हुने गरेको उनको टिप्पणी थियो ।

‘चुनावमा कांग्रेसबाट उठ्ने उम्मेदवारले पुष्पम, पत्रम, के–के गरेर मिलाउँछ विचरा अलिअलि जोगाउँछ । नत्र भने कांग्रेस पार्टी चल्दैचल्दैन’, भुषालले भने ।
उनले कांग्रेस एकीकृत समाजवादीकै पिठ्युँ चढेर जनतामा गएको भन्दै कसका कारणले सत्तामा गयौं भन्ने कुरा अलिअलि शेरबहादुर देउवा र केही नेताले बोल्ने गरेको र अरुलाई मतलब नै नभएको उनको भनाई थियो । यस कारणले पनि एकीकृत समाजवादीलाई बेलाबेलामा अप्ठेरो पार्ने गरेको बताए । भुषालले नागरिकमा नयाँ पार्टीहरुप्रति आकर्षण बढ्नुमा कांग्रेस प्रमुख दोषि भएको आरोप पनि लगाए ।

जनतालाई रोजगारी दिनुका सट्टा पञ्चायत कालमा खुलेका उद्योग, करकारखाना कांग्रेसले बेचेकाले अहिलेको राजनीतिक संकट आइपरेको उनको भनाई थियो । कांग्रेसले धेरै पटक सरकार चलाउँदा उद्योगहरु बन्द गराएकाले रोजगारी गुम्न पुगेको र बेरोजगारी बढेपछि वर्तमान राजनीतिक दलहरुप्रति नागरिकमा वितृष्णा पैदा भएको उनले बताए ।
भुषाललले एकीकृत समाजवादी नागरिकका जीवनस्तर उकास्ने मुद्दा बोकेर हिँड्ने पार्टी भएको बताए । समाजवादीले नेपालीलाई नयाँ जिन्दगी दिने योजनामा काम गर्ने उनको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*