उत्कृष्ट खेलाडीको सम्मान, राष्ट्रिय प्रतियोगिता खेल्दै ११ खेलाडी

साझाकुरा
२०८० बैशाख १०, आईतवार ०८:४६

हेटौंडा-वैशाख पहिलो साता काठमाडौंमा भएको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई सम्मान गरिएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरले शनिवार एक कार्यक्रम आयोजना गर्दै प्रदेशस्तरीय रनिङशिल्डमा स्वर्ण, रजत र कास्य पदक जित्ने जिल्लाका खेलाडीको सम्मान गरेको हो ।

हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, उपमहानगरका प्रवक्ता तथा हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपाने, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्गी, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीलगायतले प्रदेश खेलकुदमा उत्कृष्टता हासिल गर्दै जिल्लाको नाम राखेकोमा सम्मान प्रदान गरेका हुन् ।

प्रशिक्षक, व्यवस्थापक सहित भलिबलका २०, कबड्डीका २०, तेक्वान्दोका ३, करातेका २ र एथ्लेटिक्सका ५ जना सम्मानित भएको जिल्ला खेलकुदका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिए । प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा मकवानपुरले ६ स्वर्णसहित तेस्रो स्थान बनाएको थियो । ६ वटै स्वर्ण एथ्लेटिक्समा जितेको हो । मकवानपुरले ६ स्वर्ण ५ रजत र ६ काश्य पदक हात पारेको हो । प्रतियोगिताको अघिल्लो संस्करणमा मकवानपुरले ५ स्वर्ण मात्रै जितेको थियो । ६ वटा खेलमा प्रतिस्पर्धा गरेको मकवानपुरले एथ्लेटिक्सतर्फ महिलामा दिना गोपाली र पुरुषतर्फ आयुष नेगी र सुमन योन्जनले २–२ स्वर्ण जितेका थिए ।

दिना गोपालीले १०० मिटर दौड र २ सय मिटर दौड प्रतियोगितामा स्वर्ण जितेकी हुन् । आयुष नेगीले ४ सय मिटर दौड प्रतियोगितामा र १०० मिटर रिले दौडमा स्वर्ण जितेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष खड्गीले जानकारी दिए । पुरुषतर्फको १ सय मिटर रिले दौडमा प्राप्त स्वर्ण आयुषसहित सुमन योन्जन, सुजन राई, पाण्डव राईको नाम छ । ४ सय मिटर रिले दौडमा आयुष नेगी, सुमन योन्जन, सुजन राई र जिकेश सापकोटाले स्वर्ण पाए । यसैगरी, ज्याब्लिङ थ्रोमा सुमन योन्जनले मकवानपुरका लागि स्वर्ण जिताएका थिए ।

रजत जित्नेमा मकवानपुरको तर्फबाट ८ सय मिटर दौडमा सुमन योन्जन, १ सय मिटरमा सुजन राई, तेक्वान्दो महिलातर्फ ४४ केजीमा कविना राई र ४७ केजी तौल समूहमा सोनिया श्रेष्ठ, भलिवल महिला टिम रहेका छन् । यसैगरी काश्यमा तेक्वान्दो पुरुषमा ४७ केजीमा अरविन घले, पुरुष भलिबल टिम, कबड्डी महिला तथा पुरुष टिम,
कराते पुरुषमा ५२ केजी तौल समूहका राज भोलन र ४७ केजी तौल समूहका रोहित रुम्बा रहेका छन् । राष्ट्रपति रनिङशिल्ड जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिले ५ दिन बन्द प्रशिक्षणको समेत व्यवस्था गरेको थियो ।

यसैगरी, प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका मकवानपुरका ११ खेलाडीले राष्ट्रिपति रनिङशिल्डको राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन् । राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने एथ्लेटिक्स खेलाडी दिना गोपाली, आयुष नेगी, सुमन योन्जन र सुजन राई छन् । कबड्डीमा निश्चल तामाङ, निश्वकला विष्ट तथा भलिबलमा सुविन छुमी पुजन गुरुङ छनोट भएका छन् । तेक्वान्दोबाट कबिना राई र सोनिया श्रेष्ठ छनोट भएको कोइरालाले जानकारी दिए ।

११ खेलाडीलाई शनिवार जिल्ला खेलकुदले बिदाई गरेको छ । सम्भवतः राष्ट्रपति रनिङशिल्डको राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्दै एकै पटक ११ जना खेलाडीले प्रतिस्पर्धा गर्न लागेको मकवानपुरको इतिहासमा पहिलो पटक हो । जिल्ला खेलकुदका प्रमुख कोइरालाले पहिलो पटक ११ जनाले राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न लागेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*