मुकुन्द न्यौपाने एमालेमै फर्किए

साझाकुरा
२०८० बैशाख १०, आईतवार ०८:५८

हेटौंडा-झापा आन्दोलनबाट कम्युनिष्ट राजनीतिमा अनवरत लागिरहेका मुकुन्द न्यौपाने नेकपा एमालेमै फर्किएका छन् ।मकवानपुरको राजनीतिसँग नजिकबाट जोडिएका न्यौपाने शनिबार एमाले पार्टी कार्यालय च्यासलमा कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमबाट एमालेमै फर्किएका हुन् । स्थायी घर भोजपुर भएका न्यौपानेको मकवानपुरे कम्युनिष्ट आन्दोलनमासमेत योगदान रहेको चर्चा हुने गरेको छ । उनले लामो समय हेटौंडामै बसेर पार्टीको काम गरेका थिए । नेकपा एकीकृत समाजवादी पार्टी छाडेका नेता न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनः पार्टीमा प्रवेश गराएका हुन् ।

उनले गत साता आफू नेकपा एसबाट अलग भएर एमालेमै फर्किने घोषणा गरेका थिए । उनीसहित नेकपा एसका नेता चुडामणि जंगली, मुना वानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर दयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल पौडेल, तोरण बहादुर केसी, माया अधिकारी, दलबहादुर केसी, भीमकान्त पोखरेल, खेमराज आचार्य, चन्द्रकिशोर गौतम, देवी गिरी, चन्द्रप्रसाद गुरुङ लगायत दर्जनौं नेताहरु एमालेमा फर्किएका हुन् । एमाले प्रवेश गर्दै न्यौपानेले नेकपा एकीकृत समाजवादी पार्टी नै नभएको टिप्पणी गरे । न्यौपानेले एकीकृत समाजवादी पार्टीले नेपालमा गरी नखाने उल्लेख गर्दै समाजवादी पार्टीले समाजवाद नल्याउने बताए ।

उनले एकीकृत समाजवादी पार्टी छोड्ने अभियान जारी रहने बताउँदै एक देश एक कम्युनिष्ट पार्टी हुनुपर्ने बताए । उनले एमालेको झण्डा मुनी आउन एकीकृत समाजवादीमा रहेका सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का पूर्वउपाध्यक्ष केदार न्यौपाने एमाले प्रवेश गर्ने चर्चा भए पनि उनी भने कार्यक्रममा उपस्थित थिएनन् । मुकुन्दका सहोदर भाइसमेत रहेका कम्युनिष्ट नेता केदार न्यौपानेको स्थायी घर हेटौंडा हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*