हाँडीखोला पुल अलपत्र पार्ने ठेकेदारलाई ५ दिने अल्टिमेटम

साझाकुरा
२०८० बैशाख १२, मंगलवार ०९:३४

हेटौंडा- मनहरी गाउँपालिका वडा नं ३ को हाँडीखोला–कालीदमार जोड्ने पुल निर्माण कम्पनीका लागि गाउँपालिकाले ५ दिने अल्टिमेटम दिएको छ । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पुल निर्माणको ठेक्का पाएको भैरव–नारायण–गणेश जेभीका सञ्चालक शिव चौलागाईंलाई निर्माणस्थलमै पुगेर अल्टिमेटम दिएका हुन् । जनजीविकाको सवालमा आफूले कुनैपनि मूल्यमा सम्झौता नगर्ने अध्यक्ष कालाखेतीले बताएका छन् ।

२०७७ मंसिर ७ गते ठेक्का सम्झौता भएको यो पुल २ वर्षमा सम्पन्न गर्नुपर्ने सहमति भएको थियो । तर, सम्पन्न गर्नुपर्ने मिति सकिएर ४ महिना नाघिसक्दा पनि जमिन मुनीको काम मात्र भएको छ । ठेकेदारलाई बारम्बार सम्पर्क गरी ५ पटकसम्म पत्राचार गरी सचेत गराउँदा समेत ठेकेदार कम्पनीले कुनै चासो नदिएको हो । अन्तिम अवस्थामा कालो सूचीमा राख्ने भनिएपछि मात्र सोमबार सञ्चालक चौलागाईं निर्माणस्थलमा उपस्थित भएका छन् ।

उनलाई स्थानीयबासीकै रोहबरमा अबको ५ दिनभित्र काम सुचारु गरी आगामी मंसिरसम्ममा सम्पन्न गर्न अन्तिम अल्टिमेटम दिइएको हो । ५ दिनभित्र काम सुचारु नभए कार्यपालिका वैठकले ठेक्का रद्द गरी कारवाही प्रक्रिया अघि बढाइने अध्यक्ष कालाखेतीले चेतावनी दिएका हुन् ।निर्माणस्थलमा ३ नं वडाअध्यक्ष अनन्तप्रकाश अर्यालले निर्माण कम्पनीको लापरबाहीका कारण दुईवर्षसम्म पुलको काम अलपत्र परेको बताए ।

आगामी मंसिरभित्र निर्माण कार्य सम्पन्न गर्ने बचनबद्दता जाहेर गरेको पनि उनले जानकारी दिएका छन् । ५ वटै पुलमध्य सबैभन्दा पहिला काम सुरु गरिएको तर कार्यप्रगति सबैभन्दा यसैको पछाडि परेको स्थानीयले बताएका छन् । निर्माणस्थलमा ९ नं. वडाअध्यक्ष राजकुमार श्रेष्ठ लगायत स्थानीयबासीको उपस्थिति थियो । मकवानपुरको मनहरी गाउँपालिकाले प्रदेश सरकार र आफ्नो लगानीमा पाँच वटा पक्की पुल निर्माण गरिरहेको छ ।

गाउँपालिकाको आन्तरिक श्रोतबाट पाँच वटा पक्की पुल निर्माणको काम सुरु गरिएको हो । दुइ वर्षमा निर्माणको काम सक्नेगरी ५ ठुला पक्की पुल साबिक हाँडीखोलामा निर्माण सुरु भएको थियो । तर, दुईवर्षको म्याद समाप्त भएको पनि ५ महिना बितिसकेको छ । मनहरी गाउँपालिकाको वडा नम्बर–३ र ४ जोड्नका लागि मसिने र ट्वाङग्रा खोलामा पुल निर्माणको काम भइरहेको छ ।

ट्वाङग्राखोलाको पुलको दुबै स्ल्याव (स्पान) ढलान सकिएको छ । आगामी असारदेखि यो पुल सञ्चालनमा आउनसक्ने अवस्था रहेको छ । यसैगरी मनहरीकै वडा नम्बर–३ र ४ जोड्ने मसिने खोलामा पुल निर्माणको काम भइरहेको छ । यो पुलको एउटा स्ल्याव ढलान भएको र अर्कोको ढलानका लागि तयारी भइरहेको छ । एक मिहनाभित्र थप अर्को स्ल्याव ढलान गर्ने कार्य सम्पन्न भएको खण्डमा आगामी बर्षात्मा मसिने खोलाको पुल पनि सञ्चालनमा आउने सम्भावना छ । स्ल्याव ढलान हुन सकेन भने स्थानीयले आगामी बर्षातको समयमा पुलबाट आवागमन गर्ने सपना पूरा हुन थप एकवर्ष कुर्नुपर्ने हुन्छ ।

मनहरी गाउँपालिका वडा नम्बर–३ को भुन्दु्रङ र पालदमार जोड्ने ठाडेखोलामा पुल निर्माणको काम भइरहेको छ । यसैगरी मनहरी गाउँपालिका वडा नम्बर–१ र २ जोड्ने च्यापल खोलामा पुल निर्माणको काम भइरहेको छ । मनहरी गाउँपालिकाको वडा नम्बर–३ हाँडीखोला वारपार गर्नका लागि पुल निर्माण सुरु गर्ने कार्य गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेतीले गरेका थिए ।

सबै पुलबाट साना, ठुला सवारीका साधन ओहोर दोहोर गर्न सक्नेगरी निर्माण थालिएको थियो ।पुल नहुँदा साविकको हाँडीखोलाका बासिन्दाले वर्षौंदेखि समस्या भोग्दै आएका थिए । बर्खायाममा हाँडीखोलाका नागरिक बिरामी परेको खण्डमा अस्पताल लैजान सकिन्नथ्यो । खहरेमा बाढी आएको समयमा बिरामी उपचारका लागि धामी झाँक्रीको भन्दा अर्को बिकल्प थिएन स्थानीयसँग । अब भने पुल निर्माणको काम सकिएपछि बर्षौंदेखिको समस्या समाधान हुने मनहरी–४ तल्लो मसिनेका समाजसेवी माधब गौतम वताउँछन् । पुल नहुँदा हिउँदयाममा मात्र ओहोरदोहोर गर्न सकिने र वर्षायाम सुरु हुनेवित्तिकै ओहोरदोहोर गर्नका लागि समस्या थियो ।

५ बर्ष अघि रजैया–लामिटार जोड्ने गरी राप्तीखोलामा पुल बनेपछि स्थानीयले निकै राहतको अनुभूति गरेका थिए । अहिले मनहरी–३ र हेटौंडा–१९ सान्नानीटार जोड्ने गरी राप्ती खोलामा पनि पक्की पुल निर्माणको काम भइरहेको छ । आगामी असार मसान्तसम्मा यो पुल पनि सञ्चालनमा आउने सम्भावना प्रवल रहेको छ । केही दिन अघिमात्र हेटौंडा–१९ बस्तीपुर र मनहरी–३ भुन्द्रुङ जोड्ने पक्की पुलको लागि बोलपत्र आब्हान भएको छ ।

यसैगरी मनहरी–९ रजैयाबाट मनहरी–५ डिल्लीपुर जोड्ने पक्की पुलको पनि बोलपत्र भइसकेको छ । मनहरी–५ लाई पूर्वपश्चिम राजमार्ग जोड्ने दुईवटा झोलु·ेपुल निर्माण भएपछि स्थानीयले निकै राहतको महशुस गरेका थिए । मनहरी–३ भाग्यमानी वडाको रुपमा रहेको छ । साबिक हाँडीखोलालाई पूर्बपश्चिम राजमार्गसँग जोड्ने गरी मनहरी–३ को लामिटार, हाँडीखोला र भुन्द्रुङबाट राप्ती खोलामा ३ स्थानमा पक्की पुल बन्दैछ । त्यस्तै मनहरी गाउँपालिकाले निर्माण गरिरहेको ५ वटा पक्की पुलमध्ये पनि मनहरी–३ जोड्ने गरी ३ वटा पुल निर्माण हुने क्रममा छ ।

साबिक हाँडीखोलाबासीको सबैभन्दा ठूलो पीडा भनेको बर्षात्को समयमा सबै गाउँहरु टापुको रुपमा परिरणत हुने गरेका थिए । तर, पछिल्लो समयमा पैदलयात्रुका लागि आवश्यक स्थानमा झालु·े पुल र सवारी साधनका लागि पक्की पुल निर्माण हुने क्रममा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*