स्थानीय सरकारको ताकेता

साझाकुरा
२०८० बैशाख १३, बुधबार १०:४०

मनहरी गाउँपालिका वडा नं ३ को हाँडीखोला–कालीदमार जोड्ने पुल निर्माणकार्य अढाइ वर्षदेखि अलपत्र पारेको भन्दै निर्माण कम्पनीलाई गाउँपालिकाले ५ दिने चेतावनी दिएको छ । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पुल निर्माणको ठेक्का पाएको भैरव–नारायण–गणेश जेभीका सञ्चालकलाई निर्माणस्थलमै पुगेर चेतावनी दिएका हुन् । जनताले तिरेको करबाट संचालन गर्ने योजनामा निर्माण कम्पनीले खेलवार्ड गरेको भन्दै स्थानीय सरकारले तत्काल निर्माण कार्य सुरु नगरे ठेक्का सम्झौता तोड्ने चेतावनी दिइएको हो ।

२ वर्ष भित्रमा सम्पन्न गर्नुपर्ने गरी २०७७ मंसिर ७ गते ठेक्का सम्झौता भएको थियो । तर, सम्पन्न गर्नुपर्ने मिति सकिएर ४ महिना नाघिसक्दा पनि जमिन मुनीको काम मात्र भएको छ । ठेकेदारलाई बारम्बार सम्पर्क गरी ५ पटकसम्म पत्राचार गरी सचेत गराउँदा समेत ठेकेदार कम्पनीले कुनै चासो नदिएको बताइएको छ । अन्तिम अवस्थामा कालो सूचीमा राख्ने भनिएपछि मात्र सोमबार निर्माण कम्पनीका सञ्चालक पुल निर्माणस्थलमा उपस्थित भएका थिए। उनलाई स्थानीयबासीकै रोहबरमा अबको ५ दिनभित्र काम सुचारु गरी आगामी मंसिरसम्ममा सम्पन्न गर्न अन्तिम चेतावनी दिइएको हो ।

५ दिनभित्र काम सुचारु नभए कार्यपालिका वैठकले ठेक्का रद्द गरी कारवाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण दुईवर्षसम्म पुलको काम अलपत्र परेको छ । निर्धारीत मितिमा काम सम्पन्न नभएपछि एक वर्षको म्याद थप गरिएको थियो । आगामी मंसिरभित्र निर्माण कार्य सम्पन्न गर्ने निर्माण कम्पनीले बचनबद्दता जाहेर गरेको छ । ५ वटै पुलमध्य सबैभन्दा पहिला काम सुरु गरिएको तर, कार्यप्रगति सबैभन्दा यही पुलको पछाडि परेको स्थानीयले बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिकाले प्रदेश सरकार र आफ्नो लगानीमा पाँच वटा पक्की पुल निर्माण गरिरहेको छ ।

गाउँपालिकाको आन्तरिक श्रोतबाट पाँचवटा पक्की पुल निर्माणको काम सुरु गर्नु आफैंमा चुनौतीपूर्ण कदम थियो । दुइ वर्षमा निर्माणको काम सक्नेगरी ५ ठुला पक्की पुल साबिक हाँडीखोलामा निर्माण सुरु भएको थियो । तर, दुईवर्षको म्याद समाप्त भएको पनि ४ महिना बितिसकेको छ । मनहरी गाउँपालिकाको वडा नम्बर–३ र ४ जोड्नका लागि मसिने र ट्वाङग्रा खोलामा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

ट्वाङग्राखोलाको पुलको दुबै स्ल्याव (स्पान) ढलान सकिएको छ । आगामी असारदेखि यो पुल सञ्चालनमा आउनसक्ने अवस्था रहेको छ । यसैगरी मनहरीकै वडा नम्बर–३ र ४ जोड्ने मसिने खोलामा पुल निर्माणको काम भइरहेको छ । यो पुलको एउटा स्ल्याव ढलान भएको र अर्कोको ढलानका लागि तयारी भइरहेको छ । एक मिहनाभित्र थप अर्को स्ल्याव ढलान गर्ने कार्य सम्पन्न भएको खण्डमा आगामी बर्षात्मा मसिने खोलाको पुल पनि सञ्चालनमा आउने सम्भावना छ । मनहरी गाउँपालिका वडा नम्बर–३ को भुन्दु्रङ–पालदमार जोड्ने ठाडेखोलामा पुल निर्माणको काम भइरहेको छ । यसैगरी मनहरी गाउँपालिका वडा नम्बर–१ र २ जोड्ने च्यापल खोलामा पनि पुल निर्माणको काम भइरहेको छ ।

पुल नहुँदा साविकको हाँडीखोलाका बासिन्दाले वर्षौंदेखि समस्या भोग्दै आएका थिए । बर्खायाममा हाँडीखोलाका नागरिक बिरामी परेको खण्डमा अस्पताल लैजान सकिन्नथ्यो । खहरेमा बाढी आएको समयमा बिरामी उपचारका लागि धामी झाँक्रीको भन्दा अर्को बिकल्प थिएन स्थानीयसँग । ५ बर्ष अघि रजैया–लामिटार जोड्ने गरी राप्तीखोलामा पुल बनेपछि स्थानीयले निकै राहतको अनुभूति गरेका छन् । अहिले मनहरी–३ र हेटौंडा–१९ सान्नानीटार जोड्ने गरी राप्ती खोलामा पनि पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी असार मसान्तसम्मा यो पुल पनि सञ्चालनमा आउने सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*