विन्दावासिनीलाई सांसद बन्ने बाटो खुला

साझाकुरा
२०८० बैशाख १३, बुधबार १०:४२

हेटौंडा- हेटौंडाकी विन्दवासिनी कंशाकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बन्ने बाटो खुलेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद मंगलबार प्रतिनिधिसभा बैठकबाट रिक्त भएसँगै उनको ठाउँमा विन्दाबासिनीलाई सांसद बन्ने बाटो खुलेको हो । सभामुख देवराज घिमिरेले सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय गरेका हुन् । पार्टीले सांसद श्रेष्ठलाई पदमुक्त गराउन संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो । व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ डिल गरेको अडियो सार्वजनिक भएसँगै पार्टीले उनलाई साधारणसदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । सभामुख घिमिरेले मंगलबारको प्रतिनिधिसभा बैठकमार्फत् श्रेष्ठको सांसद पदरिक्त रहेको जानकारी गराए ।

कानुनतः सभामुखले सदनलाई जानकारी गराएपछि सांसद पदरिक्त हुने गर्दछ । श्रेष्ठ समानुपातिकतर्फबाट सांसद बनेका थिए । सभामुख घिमिरेले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको र सो निर्णय बमोजिम निजको सांसद पदरिक्त हुने भनी निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद सचिवालयमा दिएकोले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु ।

साथै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको व्यहोरा जानकारी गराउँछु ।’,श्रेष्ठको स्थानमा हेटौंडा निवासी एसिड पीडित विन्दवासिनी कंसाकारलाई सांसद बनाउने रास्वापले निर्णय गरिसकेको छ । सभामुखले श्रेष्ठको सांसद पद गएको जानकारी गराएसँगै पार्टीको निर्णयअनुसार विन्दावासिनीलाई पनि सांसदको रुपमा सदनलाई जानकारी गराउने छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसदको लागि सिफारिस भएकी विन्दावासिनी सांसद भएको अवस्थामा मकवानपुरबाट सम्भवतः सबैभन्दा कान्छी प्रतिनिधि सभा सदस्य बन्ने छिन् ।

रास्वपाको समानुपातिक सूची हेर्दा ढाकाको स्थानमा मेघबहादुर आले र विन्दवासिनी कंसाकार मुख्य दाबेदार देखिएका थिए । आदिवासी–जनजाति क्लस्टरको पुरुषतर्फ आले र महिला तर्फ कंसाकार प्राथमिकतामा रहेकाले उनीहरुमध्ये एकजनाले संसदको यात्रा तय गर्ने निश्चित थियो ।रास्वपा सभापति रवि लामिछोनेल कंसाकारलाई सांसद बनाउने निर्णय लिएका हुन् । हेटौंडाकी कंसाकार ‘एसिड पीडित’का रुपले देशभर चर्चित छिन् ।

विन्दवासिनी एसिड पीडितहरुको न्यायका लागि लडिरहेकी अभियन्ता समेत हुन् । उनलाई २०७० सालमा एसिड आक्रमण भएको थियो । हेटौंडामा रहेको आफ्नै परिवारको भाँडा पसलमा बसिरहेका बेला हेटौंडामै बस्ने भारतीय नागरिकले उनलाई बोलाएर एसिड छ्यापेका थिए । पीडक घटनाको ६ वर्षपछि २०७७ सालमा पक्राउ परे र जेल सजाय काटिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*