बागमतीको बजेट र कार्यक्रमलाई मन्त्रालयले माग्यो सुझाव
हेटौंडा- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट, नीति तथा कार्यक्रम ल्याउन तयारी सुरु गरेको छ ।आगामी आवका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निर्माणको तयारी थालेको हो । बागमती सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्नेकार्य धमाधम भइरहेको जानकारी दिएको छ । प्रदेशका सबै मन्त्रालयमा अहिले विभिन्न शाखाका कर्मचारी, महाशाखाका प्रमुखहरु, सचिवहरु र मन्त्रीहरुलाई अहिले बजेटको चटारोले भ्याइनभ्याइ भएको छ ।
आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक मन्त्रालयलाई बजेटको सिलिङ तोकेको छ । त्यही सिलिङमा रहेर बजेट निर्माण गर्ने काम भइरहेको कर्मचारीको भनाइ छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याउने बजेट तथा कार्यक्रममा जनस्तरबाट सुझाव माग गरेको छ । आव २०८०÷८१ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेकाले सुझाव दिन सूचना जारी गरेको हो । बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना सुझावहरु ३० वैशाख २०८० सम्म उपलब्ध गराउन विभिन्न संघ, संस्था, वुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आमनागरिकमा अनुरोध गरिएको छ । मन्त्रालयले इमेलमा वा मन्त्रालयमा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो ।
बजेट तथा कार्यक्रमलाई बढी जनमुखी, प्रतिफलमुखी र कार्यान्वयनयोग्य बनाउन सुझाव माग गरिएको अर्थमन्त्री बहादुरसिं लामाले जानकारी दिए । यही लक्ष्यसाथ हाल सरोकारवालासँग छलफल एवम् परामर्श तथा सुझाव संकलन थालिएको पनि उनले बताए ।