हेटौंडामा आज २५ किलोमिटरको ‘साइकल रन’

साझाकुरा
२०८० बैशाख १६, शनिबार ०८:३१

हेटौंडा- हेटौंडामा आज शनिबार साइकल रनको आयोजना हुँदैछ । हेटौंडा उपमहानगरपालिकाले साइकल रन प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगितामा उपमहानगरका १९ वटै वडामा बसोबास रहेका १८ देखि ६० वर्षसम्मका व्यक्ति सहभागी हुन पाउनेछन् । युवा तथा खेलकुद शाखा प्रमुख बसन्त सिटौलाले हालसम्म अनलाइन फारमबाट ७० जनाले नाम टिपाएको जानकारी दिए ।

प्रतियोगितामा एक सयजना भन्दा धेरै पनि सहभागी हुन पाउने उनले बताए । नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुने कार्यक्रममा सहभागीहरुले २५ किलोमिटरसम्म साइकल कुदाउनुपर्नेछ । हुप्राचौरबाट सुरु हुने यात्रा पिप्ले–चौघडाहुँदै हटिया–कमाने–गर्दोई–भैरबरोड भएर पुनः हुप्राचौरमा आएर साइकल रन टुंग्याउनुपर्ने नियम राखिएको छ ।

साइकल रनमा सहभागी हुन सहभागीले आफूलाई आवश्यक पर्ने साइकल, हेल्मेट र जुत्तालगायत सामग्री आफैं जुटाउनुपर्ने समिति अध्यक्ष चन्द्र शाहीले जानकारी दिए । साइकल रनमा महिला÷पुरुष दुवै सहभागी हुन पाउने व्यवस्था गरिएको छ । ‘साइकल रन’को विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पाउने छन् । तेस्रो हुनेले २० हजार रुपैयाँ र प्रोत्साहन पुरस्कार स्वरुप दुई जनालाई १०÷१० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सहभागीहरुले आज बिहान ६ः४५ बजेसम्म पनि नाम दर्ता गर्न सकिने व्यवस्था आयोजकले मिलाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*