मगरले जिते हेटौंडा साइकल रन

साझाकुरा
२०८० बैशाख १७, आईतवार ११:०७

हेटौंडा- २५ किलोमिटरको हेटौंडा साइकल रन छोटो समयमै पूरा गर्दै पुजन मगरले ५० हजार पुरस्कार जितेका छन् । ५० जनाभन्दा बढी सहभागी प्रतियोगितामा निर्धारित २५ किलोमिटरको यात्रा ३८ मिनेट १९ दशमलव ३७ सेकेन्डमा पूरा गर्दै मगर विजेता बनेका हुन् । मगरभन्दा अगाडि राजीव ठाकुरले ३७ मिनेट १४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । तर, उनी मकवानपुर जिल्लाको स्थायी बासिन्दा नरहेको पाइएपछि आयोजकले नियमानुसार मगरलाई विजेता घोषणा गरेको हेटौंडा उपमहानगरपालिका खेलकुद शाखाका अधिकृत बसन्तकुमार सिटौलाले जानकारी दिए । शनिबार बिहान भएको खुल्ला प्रतियोगिता हुप्रचौरुबाट सुरु भएर क्याम्पा, चुच्चेखोला, हटिया, कमानेहुँदै पुनः हुप्रचौरमा आएर समापन भएको थियो ।

मगरले ५० हजार रुपैयाँसहित ट्रफी हात पारे ।यसैगरी, ३८ मिनेट १९ दशमलव ७७ सेकेन्डमा दूरी पार गरेका आशिष थापामगर द्वितीय भए । ३९ मिनेट ३८ दशमलव २३ सेकेन्डमा निर्धारित दूरी पार गरेका सुमन आलेमगर तृतीय भएका छन् । द्वितीय र तृतीय हुने मगरद्वयले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा सान्त्वना भएका प्रदीप थापाक्षेत्री र निशान श्रेष्ठले १०–१० हजार रुपैयाँ हात पारे ।नगर खेलकुद विकास समिति अध्यक्ष चन्द्र शाहीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

लामासहित हेटौंडा–१ का वडाध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपाने, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, १४ नम्बर वडाका वडाध्यक्ष दीपक खड्का, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्कीले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । नगर प्रमुख लामाले विजेताहरुलाई पुरस्कार प्रदान गर्दै साईकल रनले खेल क्षेत्रलाई टेवा पुग्ने बताइन् । उनले साइकल यात्रा गरेर शरिरलाई पनि स्वस्थ राख्न मद्दत पुग्ने बताइन् । आगामी दिनहरुमा पनि साइकल रन प्रतियोगिता आयोजना गर्न उपमहानगरपालिका लागिपर्ने लामाको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*