ज्ञानदीप बहुद्देश्यीय सहकारीको शेयर पुँजी झण्डै १ करोड

साझाकुरा
२०८० बैशाख २४, आईतवार १५:३६

हेटौंडा- हेटौंडा उपमहानगरकै उत्कृष्टमध्ये एक जिएस निकेतन माध्यमिक विद्यालय सञ्चालन गरिरहेको ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा भएको छ । शनिवार सहकारीका अध्यक्ष जिधराज ढकालको सभाध्यक्षता तथा बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा साधारणसभामा भएको हो । साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मोक्तानले सहकारी र विद्यालयको योजना दुदर्शी हुनुपर्ने बताइन् । जनताको छोराछोरीले सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा जिएस निकेतनबाट लिनु पाउनुपर्नेमा उनले जोड दिइन् । संस्थागत विद्यालयमा उत्कृष्ट बन्दै आइरहेको भन्दै जिएस निकेतनलाई आगामी सफलताको शुभकामना पनि उनले दिइन् । मन्त्री मोक्तानले सहकारी र विद्यालय दुवै टिकाउनुपर्ने र सरकारबाट सहयोग हुने विश्वास दिलाएकी छन् ।

साधारणसभाको अबसरमा सहकारीका अध्यक्ष ढकालले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष मोहनप्रसाद न्यौपानेले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष ढकालले तल्ला कक्षाहरुमा सुविधाजनक बेञ्च उपलब्ध गराइएको, नयाँ तेस्रो बस खरिद गरी विद्यार्थी यातायातमा सहजीकरण गरिएको, १० धुर जग्गा खरिद गरिएको, सरकारी मापदण्ड अनुसार विद्यार्थी छात्रवृत्ति प्रदान
गरिएको, शैक्षिक सुधारका लागि रणनीतिक योजना अघि बढाएको जानकारी दिँदै आगामी दिनमा बाल उद्यान, विद्यालयको विषयगत ल्याबको व्यवस्थापन, प्रविधिमैत्री कक्षा कोठा निर्माणमा जोड गरिएको जानकारी गराएका छन् । सहकारीको शेयर पुँजी ९४ लाख ३० हजार रहेको छ ।

साधारणसभाको अबसरमा सहकारीका पूर्वअध्यक्ष केशवबहादुर श्रेष्ठलाई नगदसहित सम्मान गरिएको छ । विद्यालयका पूर्वप्रिन्सिपल भोलाप्रसाद शिवाकोटी र पत्रकारिताको माध्यमबाट विद्यालयको विकासमा योगदान पु¥याएको भन्दै राजन दाहाललाई नगदसहित सम्मान प्रदान गरिएको थियो । सहकारीले कविता संग्रह पुस्तक प्रकाशन गरेको भन्दै विद्यार्थी समर्पण न्यौपाने र भागवत गीताको अध्ययनपश्चात अंग्रेजीमा ‘मेकिङ इट इजी’ पुस्तक प्रकाशन गरेका आदर्श पौडेललाई २० हजार नगदसहित सम्मान प्रदान गरेको छ । साधारण सभामा भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहाल, हेटौंडा–५ का वडाध्यक्ष सुशिल घिमिरे, १८ का वडाध्यक्ष अनिल बानियाँ, दिव्यतारा बहुउदेसीय सहकारीका अध्यक्ष डा. गणेश लामालगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*