लोपोन्मुख वनकरिया उद्योगी बन्दै

साझाकुरा
२०८० बैशाख २५, सोमबार ११:४८

हेटौंडा- मकवानपुरका वनकरीया महिलाले घ्युकुमारी र तितेपातीबाट साबुन बनाएका छन् । उनीहरुले स्थानीयस्तरमा नै पाइने घ्युकुमारी र तितेपातीको प्रयोग गरेर नुहाउने साबुन बनाएका हुन् ।
मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापमा बसोबास गर्दै आएका वनकरीया समुदायको आर्थिक अवस्था सुधारोन्मुख छ । उनीहरुलाई आयआर्जनमा अघि बढाउनको लागि साबुन उत्पादन तथा बजारीकरणमा सहयोग पुग्ने हो भने आत्मनिर्भरताको लागि बलियो अवसर प्राप्त हुने वनकरिया समुदायकी अगुवा सन्तोषीले बताइन् । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उनीहरुलाई साबुन बनाउने तालिम दिएपछि आयआर्जनमा आफूहरु जोडिने अवसर प्राप्त भएको सन्तोषीले बताइन् । मञ्चबाट ३ दिनको तालिम लिएपछि यहाँका २५ जना महिला साबुन उत्पादन गर्ने सीपमा लागेका छन् ।

साबुन उत्पादन गर्नको लागि आवश्यक औजार समेत मञ्चले प्रदान गरेकोले अबको सबैभन्दा आवश्यक पाटो कच्चापदार्थ र बजारीकरण नै भएको उनीहरुको धारणा छ ।तितेपाती त पाखा र बगरमा पनि पाइन्छ, घ्युकुमारी छैन, कहाँबाट कसरी जोहो गर्ने ? खोजी गर्दैछौं–संन्तोषीले भनिन् । आत्मानिर्भरताको लागि आफूहरुले पनि हालै घ्युकुमारी रोपेको तर, तत्कालको लागि भने किन्नु पर्ने अवस्था रहेको उनले बताइन् । तालिमको क्रममा उनीहरुले झण्डै ४ सय पीस साबुन बनाएका थिए ।

जुन अब थोरै मात्रै बाँकी छ । आगामी दिनमा साबुन उत्पादन गरेपछि त्यसको लागि खोल र ब्राण्डिङ गर्न चाँहि बाँकी रहेको उनले बताइन् । साबुन उत्पादनलाई संस्थागत गर्न उनीहरुले वनकरिया महिला विकास संघ नामक संस्थाबाट संस्थागत रुपमै अघि बढ्ने तयारी गरेको सन्तोषीले बताइन् । उनी यो संघको समेत सचिव हुन् ।तालिम लिएपछि हामी एकदम खुसी छौं, अब स्थानीय सरकारले पनि केही सहयोग गरिदिए हामीले यसलाई उद्योगको रुप दिनसक्ने थियौं–संघकी अध्यक्ष माया वनकरीयाले भनिन् । उनीहरुले उत्पादन गरेको साबुनको मूल्य निर्धाणर गरिसकेका छैनन्, समूहमा छलफल गरेर आफूहरुको लागत हिसाब गरेर मात्रै मूल्य तोक्ने तयारीमा छौं–सन्तोषीले भनिन् । प्रति ईकाई लागतमा थोरै हाम्रो श्रम जोडेर मूल्य तोक्ने छौं, सुरुमा फाइदाभन्दा पनि हाम्रो उत्पादनको बजारीकरण महत्वपूर्ण छ ।

घ्युकुमारी र तितेपातीको पेष्ट बनाएर, झण्डै एक घण्टा पकाएपछि त्यसलाई साबुन बनाउने फर्ममा हालिन्छ । मञ्चले समूहको लागि साबुन निर्माणार्थ ५ वटा फर्मा दिएको छ जसमा कुनैमा एकपटकमा ६ वटा साबुन बनाउन मिल्छ भने कुनैमा एकैपटक २४ वटासम्म साबुन बनाउन सकिन्छ । वर्षौंदेखि सुकुम्बासीको रुपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरीयाको आफ्नो नाममा जग्गा छैन ।

गत २०७९ जेठमा जग्गाको माग गर्दै संघीय सरकारको आश्वासन पाएका उनीहरुले अझै जग्गा पाएका छैनन् । सरकारले भूमिहिनलाई जग्गा वितरण गरिरहँदा आफूहरुले पनि जग्गा पाउनु पर्ने माग गर्दै वनकरीया समूदायका प्रतिनिधि वडाअध्यक्ष प्रकाश थापाको साथ लागेर भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको आश्वासन पछि ढुक्क भएर फर्केका थिए ।
तर, एकवर्ष बित्यो उनीहरुको फाइल अघि नबढेको सन्तमाया वनकरीयाले बताइन् ।

वनकरीया यस स्थानमा २०१८ सालदेखि बस्दै आएका हुन् । २०६२ सालबाट यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको र यही बसोबास गरेकै स्थानमा सामूहिक लालपूर्जा माग गर्दै आएका छन् । यसक्षेत्रमा १९ घर वनकरीयाको बसोबास छ । आर्थिक रुपमा विपन्न उनीहरु पर्सा वन्यजन्तु आरक्ष भित्र निहुरो खोजेर बेच्ने तथा ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका थिए । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताले जीविका चलाउन निकै सहयोग भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*