उपमहानगरका ५६ घरधुरीलाई लालपुर्जा

साझाकुरा
२०८० बैशाख २७, बुधबार ११:३०

हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा बसोबास गर्दै आएका ५६ घरधुरीलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिमा ५६ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको हो । २०५२ सालमा साबिकको पदमपोखरी र हालको हेटौंडा उपमहानगरपालिका–१३ वनस्पतिमा ताइवानी सरकारको चुची फाउण्डेशनको सहयोगमा बाढीपीडितका लागि ४ सय २ घर वनेको थियो । ती घरमध्ये ७४ परिवारले लालपूर्जा पाएका थिएनन् । उनीहरुले २८ वर्षपछि जग्गाधनी पूर्जा पाएका हुन् । राष्ट्रिय भूमि आयोग मकवानपुरले ७४ घरधुरीलाई मंगलबार एक कार्यक्रम बीच लालपूर्जा वितरण गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ, भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहाल, वडाअध्यक्ष पेमा लामा लगायतले जग्गाधनी पूर्जा वितरण गरेका थिए । राजस्व नतिरेका कारण बनिसकेका १८ जनाको लालपूर्जा रोकिएको आयोगका अध्यक्ष दाहालले बताए । २८ वर्षपछि जग्गाधनी पूर्जा पाउँदा देवकुमारी कार्कीका आँखाबाट बररर आँसु झरे । खुशीले उनले आँसु थाम्नै सकिनन् । यो पूर्जा पाउनका लागि उनले निकै सास्ती बेहोर्नु परेको थियो ।

२०५० सालको साउनमा आएको बाढीपहिरोले साबिकको आमभन्ज्याङ गाविसस्थित उनको घर, खेत सबै बगाएको थियो । उनी बाढीपीडित मात्र होइन, सुकुम्बासी पनि बनिन् । २०५२ सालमा साबिकको पदमपोखरी र हालको हेटौंडा उपमहानगरपालिका–१३ वनस्पतिमा ताइवानी सरकारको सहयोगमा बाढीपीडितका लागि ४ सय २ घर बनेको थियो । ती घरमध्ये कार्कीले पनि एउटा घर पाएकी थिइन् । तर, उनले त्यस्को लालपूर्जा पाउन सकेकी थिइनन् । २८ वर्षको बीचमा धेरै थरीका सुकुम्बासी आयोग बने तर, उनले लालपूर्जा पाएकी थिइनन् ।

वनस्पतिमा निर्माण गरेको ४ सय २ घरमध्ये कार्कीसहित ७४ घरलेमात्र लालपूर्जा पाएका थिएनन् । अहिले राष्ट्रिय भूमि आयोग मकवानपुरले ती ७४ घरधुरीलाई मंगलबार एक समारोहबीच जग्गाधनी पूर्जा प्रदान गरेको छ । जग्गाधनी पूर्जा हातमा परेपछि खुशीले गद्गद् भएर ६५ वर्षीया कार्कीको आँखाबाट आँसु झरेको थियो । जग्गाधनी पूर्जा हातमा पाएपछि भनिन्, ‘लालपुर्जा नपाइकन मरिन्छ कि जस्तो लागेको थियो तर, अहिले पुर्जा हातमा परेपछि असाध्यै खुशी लाग्यो ।,’

लालपुर्जा हातमा परेपछि उनी मात्र होइन रीना लामा, प्रदीप दाहाल लगायत ५६ जनाको खुशीको सीमा थिएन । ‘घरमा बसेको २७÷२८ वर्ष भइसक्यो तर, आधिकारिक कागजपत्र केही थिएन, अहिले ढुक्क भइयो’, प्रदीपले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*