बिकल्पको बाटो हेटौंडा–धरान–चतरा

साझाकुरा
२०८० बैशाख २८, बिहीबार ११:०१

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरु जोड्ने सडक पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा हेरिएको छ । यो सडक हेटौंडाबाट सुरु भएर भित्री मधेस, चुरेभावर, शिवालिक तथा दून उपत्यकालाई यातायात सञ्जालमा जोड्दै धरान पुगेर टुंगिन्छ । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा ३ सय १८ किमि सडक दुई लेन निर्माण भएको छ । ११ मिटर चौडा बनाइएको यो सडक तीन वर्षभित्र विस्तार गरिसक्ने बताइएको थियो । तर, ५ वर्षमा सम्पन्न हुँदैछ । अन्य आयोजनाको तुलनामा यो सडकको निर्माण कार्य धेरै छिटो सम्पन्न भएको मान्नुपर्छ । यो सडक सुनसरीमा १८.८ किमि, उदयपुरमा १ सय ८.५ किमि, सिन्धुलीमा १ सय ३५ किमि र मकवानपुर जिल्लामा ४९.३५ किमि पर्छ ।

२०७६ जेठ ६ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार यो राजमार्गको रेखांकन बाहुनडाँगी–शान्तिनगर–धरान–चतरा–गाईघाट–कटारी–सिन्धुलीमाडी–हेटौंडा–गैंडाकोट–रामपुर–राम्दी–रिडी–बलकोट–सन्धिखर्क–बिजुवार–सितलपाटी–सुर्खेत–बड्डीचौर–बडुर–जोगबुढा–रुपाल जोड्ने सडक निर्माण गर्ने योजना थियो । तर, सरकारले हेटौंडाबाट पश्चिमतर्फको सडकखण्डलाई प्राथमिकतामा राखेको छैन । सडक दुई लेन विस्तार गरेर स्तरोन्नति गरिएको हो । सिन्धुलीबाट सडकको पूर्वी खण्डमा ४३ र पश्चिमी खण्डमा ३३ वटा पुल निर्माण गरिएको छ । पश्चिम खण्डको १ सय १५ किलोमिटरमा ३३ वटा पुल, ५७ स्थानमा कजवे, ३ सय ९७ वटा ह्युम पाइप, १९ वटा बक्स कल्भर्ट, ४ वटा स्ल्याब कल्भर्ट रहेका छन् । तीन वर्षमा पूरा गर्ने लक्ष्य राखिएको उक्त राजमार्ग निर्माणको जिम्मा पश्चिम खण्डतर्फ कालिका, स्वच्छन्द, रकेन जेभी र पूर्वी खण्डतर्फ जेट आइइसी शर्मा एन्ड लामा जेभीले लिएको थियो ।

एघार मिटर चौडाइको सडक दुई पत्रमा पिच गरिएको छ । पहिलो लेयरमा ११ मिटर चौडाइमै र दोस्रो लेयरमा त्यसमाथि सात मिटर चौडाइमा पिच गरिएको हो । सडक निर्माण सन्तोषजनक ढंगले अगाडि बढेको स्थानीयले बताएका छन् । राजमार्गको रेखांकन चुरे क्षेत्रलाई आधार मानेर गरिएको थियो । महेन्द्र राजमार्गको समानान्तर र उत्तरतर्फ पूर्व–पश्चिम भएर जाने यो
राजमार्गलाई बाह्रै महिना प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ ।

यो सडक बनेसँगै चुरेको वन क्षेत्र र आसपासमा रहेका भूमिहरु कृषि, पशुपालन, उद्योग तथा वस्ती विकासको लागि उपयुक्त भयो । महेन्द्र राजमार्ग र मध्यपहाडी राजमार्गको बीचबाट जाने अन्य उत्तर–दक्षिण राजमार्गसँग पनि जोडिने हुँदा यो राजमार्गले हिमाल, पहाड र तराईलाई राष्ट्रिय यातायातको सञ्जालमा जोडेको छ । यसलाई सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण कार्य थालनी गरेको थियो । वि.सं २०७३ कात्तिकमा सम्झौता भएको यो राजमार्गको निर्माण गर्न विभिन्न समयमा अवधि थप भयो । थपिएको ममय अनुसार २०७७ फागुनभित्र सडक सम्पन्न गर्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण निर्माण अवधि पुनःथप गरियो । २०६४ मा तराई आन्दोलनको प्रभावले यो राजमार्गको अवधारणा आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*