रोजगार मेला गरिँदै, सीप भएकालाई मेलाबाटै जागिर दिइने

साझाकुरा
२०८० बैशाख ३०, शनिबार ११:४३

हेटौंडा- हेटौंडामा रोजगारीको अबसरको खोजीमा रहेका र आफ्नो वृत्ति विकासको मार्ग पहिचान गर्न चाहने युवायुवतीको लागि मेला आयोजना हुने भएको छ ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा पहिलो पटक हुन लागेको मेलालाई हेल्भेटास नेपालले प्राविधिक सहयोग गरेको छ ।

वैदेशिक रोजगारीमा जान विद्यार्थीको लर्काे लागेपछि स्वदेशमै रोजगारीको अबसर बारे जानकारी दिन मेला आयोजना गर्न लागिएको उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जानकारी दिएको छ । मेला ३१ वैशाखदेखि १ जेठसम्म हेटौंडास्थित रोयल पार्टी प्यालेसमा सञ्चालन हुने शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिए ।

मेलाका सम्बन्धमा नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकसँग शुक्रबार छलफल गरिएको छ । विद्यालयलाई मेलाको तयारी र अवधारणा बारे जानकारी दिँदै विद्यार्थीको सहभागितामा जोड दिइएको छ । रोजगारदाता र रोजगार खोज्नेहरुको मिलनबिन्दुको रुपमा मेला रहेको रिमालले बताए । यहाँ उद्योग, कलकारखाना, व्यावसायिक स्टलहरु हुने र आवश्यकताअनुसार रोजगारीको व्यवस्थापन हुने जनाइएको छ । मेलाले कस्तो सीप सिकेमा कस्तो रोजगारी पाइन्छ भन्ने सचेतनाका सिकाई पनि हुने रिमाल बताउँछन् । विद्यार्थी र युवाले मेलाबाट सिकाई सिक्न जरुरी रहेको रिमालले जानकारी दिए ।

मेलामा वृत्ति मार्गनिर्देशन र रोजगार सम्बन्धी दुईवटा सेशन रहने शिक्षा विकास महाशाखाकी अधिकृत सुनिता महर्जनले बताइन् । वृत्ति मार्गनिर्देशनमा विद्यार्थी र
रोजगारतर्फ युवालाई सहभागी गराइने महर्जनले बताइन् । मेलामा ४३ वटा स्टल रहने र थप पनि हुन सक्ने उनको भनाई छ । मेलामा विभिन्न संघसंस्था, कम्पनी तथा उद्योगका निम्ति आवश्यक रोजगारीको बारेमा जानकारी दिइने छ ।

रोजगारीका लागि आवश्यक दक्षता भएका र हाल बेरोजगार रहेका व्यक्तिलाई रोजगारदाताबाट मेलामा नै जागिर दिइने, नेपालमा उपलब्ध हुनसक्ने विभिन्न रोजगारीका अबसर बारे जानकारी दिइने, विद्यार्थी तथा बेरोजगार युवालाई वृत्ति परामर्श सेवा प्रदान गरिने र प्राविधिक शिक्षा तथा सीपमुलक तालिम र अबसरको जानकारी दिइने महर्जनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*