मकवानपुरगढी र मनहरीमा कांग्रेस सम्मेलन

साझाकुरा
२०८० बैशाख ३०, शनिबार ११:५०

नेपाली कांग्रेसको वडा, गाउँपालिका, प्रदेश र जिल्ला सम्मेलन गर्ने केन्द्रीय परिपत्र अनुरुप मकवानपुरगढी र मनहरी गाउँपालिकास्तरीय सम्मेलन शुक्रबार भएको छ ।
मकवानपुरगढी र मनहरी गाउँपालिका कार्यसमितिले गाउँ पार्टी सम्मेलन गरेका हुन् । गाउँपालिका सभापति राजवीर मोक्तानको सभाध्यक्षता तथा जिल्ला कार्यसमितिका सचिव भीमसेन महतको प्रमुख आतिथ्यतामा सम्मेलन भएको हो ।

सम्मेलनको अवसर पारेर गाउँसमितिले जेष्ठ नागरिक एंव क्रियाशील सदस्यलाई सम्मानपत्र प्रदान गरिएको छ । सम्मानित हुनेमा ङेमा लामा भोम्जन, बेखारत्न लामा, पदमबहादुर थिङ, गोपाल सञ्जेल, मीनप्रसाद तिमल्सिना, पुलबहादुर लो, देवनसिं घिसिङ, हर्कबहादुर गोले, जीवनाथ न्यौपाने, चन्द्रशेखर न्यौपाने, मीनप्रसाद घिमिरे र देवीप्रसाद घिमिरे रहेका छन् ।

कार्यक्रममा गएको स्थानीय निर्वाचनमा निर्वाचन प्रचारप्रसार समिति संयोजक रहेका यतिराज सापकोटा, निर्वाचनमा सहयोग गर्ने नेपाल शिक्षक संघ मकवानपुरगढी गाउँपालिका अध्यक्ष प्रल्हाद घिमिरे, तरुण दल गाउँपालिका अध्यक्ष सानोकान्छा थिङलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा पार्टी सचिव आइतसिं लोले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष आकाश गोलेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कार्यक्रमको अवसरमा कांग्रेस गाउँ समितिको आगामी वर्षको कार्ययोजनासमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश समितिका सदस्य देवकी गौतम, महासमिति सदस्य सूर्यबहादुर रुम्बा, सुवाससिं थिङ, प्रतिनिधिसभा क्षेत्र १ का सभापति दामोदर खनाल, कांग्रेस नेता यतिराज सापकोटा, संघीय तथा प्रदेश क्षेत्र तहका नेताहरुलगायत गाउँपालिकामा निर्वाचित वडाअध्यक्ष र वडासदस्यहरु, वडासभापतिहरु, गाउँपालिकाको महिला संघका अध्यक्ष मन्दिरा खड्का, नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष सुभाष सापकोटालगायतको सहभागिता रहेको थियो ।

यसैगरी, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा
मनहरीमा पालिकास्तरीय सम्मेलन गरिएको हो । पालिकास्तरीय सम्मेलनमा बोल्दै प्रमुख अतिथि सभापति बानियाँले देशमा चाहिने भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएर खर्चालु बनेको संघीयताले जनतामा चरम निराशा छाएको बताउँदै पार्टीको विधान र देशको संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जान आवश्यक रहेको बताए । मुलुकको हरेक परिवर्तनमा कांग्रेसको भूमिका अतुलनीय रहेको बताउँदै नेता बानियाँले कांग्रेसबाट जितेका जनप्रतिनिधिले जनताको विकासनिर्माणमा दृढ भएर लाग्न निर्देशन दिंदै नगरे जनताले खबरदारी गर्नुपर्ने बताए ।

नेता बानियाँले विगतमा भएको कमिकमजोरीको समिक्षा गर्दै कांग्रेसले आफूले गरेको विकास निर्माण र समाज रुपान्तरणमा खेलेको भूमिकाबारे जनतामा बुझाउँदै संगठन विस्तारमा लाग्न निर्देशन दिए । कार्यक्रममा विशेष अतिथि कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, कांग्रेस बागमती प्रदेश सदस्यद्वय जानकी लामा र सन्तबहादुर चेपाङ, कांग्रेस मकवानपुरका जिल्ला सदस्य चन्द्रबहादुर न्यौपाने, कांग्रेस मकवानपुर २ (ख) का प्रदेश सभापति रञ्जन कालाखेती, महाधिवेशन प्रतिनिधिद्वय ठाकुर तितुङ र शंकर न्यौपाने, कांग्रेस मनहरी गापा सचिव हरिचन्द्र शाही ठकुरी, नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष पूर्णबहादुर चेपाङ लगायतले पार्टीमा उठेका गुनासा, पार्टी सुदृढीकरण, निर्वाचनपछि पार्टीको अवस्था र भावी रणनीतिका बारेमा धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*