‘ठूला नेताको भयले प्रकरण सामसुम नहोस्’

गृहमन्त्रीसँग कांग्रेस मकवानपुरका नेताले भने,
साझाकुरा
२०८० जेष्ठ १, सोमबार ११:१७

हेटौंडा-नक्कली शरणार्थी प्रकरणमा कांग्रेस, नेकपा एमालेका नेताहरु पक्राउ परिरहेको घटनालाई लिएर खुट्टा नकमाउन कांग्रेस मकवानपुरका नेताहरुले आग्रह गरेका छन् ।सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आइतबार भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु तानिने भयले खुट्टा नकमाउन नेताहरुले आग्रह गरेका हुन् । नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्र्रेसको संस्थापनइतर समूहका नेताहरुले पनि यसअघि गृहमन्त्री श्रेष्ठलाई भेटेर अनुसन्धानलाई निष्पक्ष ढंगबाट अगाडि बढाउन आग्रह गरेका थिए ।

मकवानपुरका पनि कांग्रेस संस्थापनइतरकै नेताहरुले गृहमन्त्रीलाई भेटेर अनुसन्धान प्रभावकारी बनाएर दोषीलाई कारबाहीको माग गरेका हुन् ।कांग्रेस मकावनपुरका पूर्वसभापति रघुरमण न्यौपाने, जिल्ला कार्यसमितिका उपसभापति तथा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, पार्टी महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, राजु पौडेललगायत कांग्रेसी नेताहरुले ठूला नेता तानिने भयबाट नक्कली शरणार्थी प्रकरणलाई सामसुम पार्न नहुने बताएका छन् । ‘यो प्रकरणमा हामी तपाईंको कार्यकर्ता बनेर उभिएका छौं ।

तपाईंबाट जुन साहसको काम भएको छ, त्यसमा हामी प्रशंसा गर्छौं । यो प्रकरणमा जस्तोसुकै शक्तिशाली र माथिको नेता परेपनि खुट्टा नकमाउनु होला’, नेताहरुले भनेका छन् । गृहमन्त्रीलाई उनीहरुले देशभरका जनता साथमा उभिएको र खुट्टा कमाएको अवस्थामा तीनै जनता विरोधमा पनि उत्रन सक्ने कांग्रेस मकवानपुरका नेताहरुले चेतावनीसमेत दिएका छन् ।‘दह्रो खुट्टा टेक्नु होला । राजनीतिक दबाब, राष्ट्रिय, अन्तराष्ट्रिय दबाब परेपनि काम गर्नुस् । असहयोग गरेर तपाईलाई हटाए पनि जसले हटायो उसकै बेइज्जत हुन्छ, यो घटनामा म तपाईलाई साथ दिन्छु भनेको छु’, न्यौपानेले साझाकुरासँग भने ।

धेरै जनताले विश्वास गरेकाले मुलुकको लागि सबैथोक त्यागेर पनि यस प्रकरण टुंगोमा पु¥याउन आग्रह गरेको उनले बताए । श्रेष्ठले प्रमाण भेटे जति कसैलाई नछोड्ने बताएको न्यौपानेले सुनाएका छन् । प्रमाण खोज्ने कुरामा पनि आफूले सबै शक्ति प्रयोग गर्ने श्रेष्ठले विश्वास दिलाएको उनको भनाई छ । ‘प्रमाण नै केही भेटिएन भने मेरो केही लाग्दैन । तर, यस प्रकरणसँग नाम जोडिएकाहरुलाई मैले कुनैपनि हालतमा छाड्ने छैन’, गृहमन्त्रीको भनाई उत्दृत गर्दै न्यौपाने भन्छन् ।

नक्कली शरणार्थी प्रकरण सतहमा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच बारम्बार बैठक चलिरहेको छ । प्रमुख तीनदलका शीर्ष नेताको बारम्बारको बैठकले आशंका जन्माएको विषय पनि आफूहरुले गृहमन्त्रीसँग राखेको न्यौपानेले उल्लेख गरे । ‘तीन शीर्ष नेताको बैठकले यो प्रकरणलाई कतै सामसुम पार्न खोजिएको त होइन ? भन्ने आमजनताको आशंका छ, यसलाई चिरेर अघि बढ्नु नै राम्रो हुन्छ भन्ने सुझाव हामीले दिएका छौं’, उनले भने । गृहमन्त्रीले कुनै हालतमा पनि खुट्टा नकमाउने कुरा बताएको न्यौपानेले बताए ।
टोपबहादुर रायमाझी पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले नेता टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो ।उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता उनी फरार थिए । रायमाझी भारत पुगेका समाचारहरु आए पनि उनी काठमाडौंबाटै पक्राउ परेका हुन् । पक्राउ पुर्जी जारी हुँदा रायमाझी अर्घाखाँचीमा थिए । काठमाडौं आएर प्रहरीलाई गिरफ्तारी दिने बताएका उनी बाटोबाटै फरार बनेका थिए ।

यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो । प्रहरीका अनुसार रायमाझी शनिवार काठमाडौं आएका थिए । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेकाहरुले रायमाझी संलग्न रहेको बयान दिएपछि प्रहरीको आग्रहमा जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परिसकेका छन् ।

खाणँसहित १२ जनाको म्याद थप

जिल्ला अदालत काठमाडौंले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा संलग्नलाई हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिनको म्याद थपेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको माग बमोजिम पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र सन्दीप रायमाझीलगायत पक्राउ परेका छन् । प्रहरीका अनुसार बालकृष्ण खाँणलाई जिल्ला प्रहरी
परिसर टेकु, नरेन्द्र केसीलाई लैनचौर वृत्त र टेकनारायण पाण्डेलाई सिंहदरबार वृत्तको प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

सन्दिप रायमाझी, सागर राई, रामशरण केसी र गोविन्द चौधरीलाई प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । ईन्द्रजित राईलाई पनि प्रहरी परिसर टेकुकै हिरातमा राखिएको छ । सन्देश शर्मालाई दरबारमार्ग वृत्त, केशव दुलाललाई कालिमाटी वृत्त, सानु भण्डारी र कुमार गुरुङलाई जनसेवा वृत्तको हिरासतमा राखिएको छ । नक्करी शरणार्थी
प्रकरणमा पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री रामबहदुर थापाका छोरा प्रतीक, बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज र पूर्वसभासद आङ्टावा शेर्पा भने अझै फरार छन् । उनीहरुलाई पनि प्रहरीले खोजी गरिरहेको छ । यसैगरी, सरकारी वकिल कार्यालयले प्रकरणको अनुसन्धान ४ दिनभित्र सक्न प्रहरीलाई निर्देशन दिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*