ब्यापार मेलाबाट ७ लाख रुपैयाँ संघको आम्दानी

साझाकुरा
२०८० जेष्ठ ६, शनिबार ०९:४८

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघले २०७९ माघ ११ गतेदेखि २३ गतेसम्म हेटौंडा–१०, टिसिएनचौरमा आयोजना गरेको १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयब्यय बिवरण सार्वजनिक गरेको छ । संघले शुक्रबार पल्पसा सदनमा पत्रकार सम्मेलन गरी मेलाको आयब्यय बिवरण सार्वजनिक गरेको हो । मेलामा व्यवसायको विस्तार, सम्भावित ग्राहकसँग छलफल, नयाँ वस्तु एवम् सेवाको प्रवद्र्धन, नयां उद्यमीलाई प्रोत्साहित गर्ने र समग्रमा उद्योग तथा व्यापारमार्फत आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा मद्दत पुगेको बताइएको छ ।

संघले यसपटक महोत्सवबाट टिडिएस, भ्याट, आय करलगायतबाट १९ लाख रुपैयाँ राज्यलाई राजश्व बापत बुझाएको छ । महोत्सवमा केही स्टलहरु निःशुल्क, केही न्यून शुल्क र केही स्टलहरु सहुलियत दरमा उपलब्ध गराएको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बताए । महोत्सवबाट कुल एक करोड २१ लाख ४९ हजार पाच सय ७६ रुपैयाँ आम्दानी भएको र एक करोड १३ लाख ९८ हजार सात सय ७६ रुपैयाँ खर्च भएको अध्यक्ष अग्रवालले जानकारी दिएका छन् । सात लाख ५० हजार आठ सय रुपैयाँ संघले मेला आयोजना गरेर आम्दानी भएको बताएको छ । प्रायोजकबाट ३२ लाख ८० हजार रुपैयाँ जिन्सीसमेत गरी प्राप्त हुन बाँकी रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।

संघले २०४२ सालमा तत्कालीन अध्यक्ष नारायणप्रसाद शर्माको नेतृत्वमा पहिलो औद्योगिक व्यापार मेला सम्पन्न गरेको थियो । २०४३, २०५३ मा नारायणी महोत्सवको नाममा, २०५५, २०५६ सालमा आयोजना गरिएको थियो । २०६६ मा मध्यमाञ्चल औद्योगिक व्यापार मेला तथा २०६८, २०७०, २०७२ र २०७५ सालमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा ओजना भएको थियो ।

महोत्सवले संघको आयमा योगदान पुग्नुका साथसाथै राष्ट्रव्यापी रुपमा मकवानपुर जिल्लालाई पहिचान दिने र जिल्लाको गरिमा बढाउने काम गरेको संघका अध्यक्ष अग्रवालले बताए । महोत्सवलाई संघले नियमित कार्यसूचीमा राख्दै मेला÷महोत्सव आयोजना गर्दै जाने बताइएको छ । जसमा सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीय मकवानपुर जिल्लावासी, दर्शक, प्रदर्शक, प्रायोजक, पत्रकार, सुरक्षा निकायलगायत सम्पूर्णको साथ तथा सहयोगको प्रतिफल हाम्रो १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ सफल भएको संघले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*