थाहानगरमा आलु खन्न सुरु, ९ महिनामा ७ अर्बको आलु आयात

साझाकुरा
२०८० जेष्ठ ७, आईतवार ११:१४

हेटौडा- मकवानपुरको थाहानगर बेमौसमी तरकारीसँगै आलु उत्पादनमा निकै प्रसिद्ध मानिन्छ तर, यो बर्ष किसानले आलुखेतीबाट राम्रो आम्दानी लिन नसक्ने सम्भावना देखिएको छ । प्रतिकेजी ४० रुपैयाँ भन्दा बढी मूल्यमा बीउआलु किनेर रोपेका किसानले आलु खन्ने समयमा बजार भाउ राम्रो नभएको बताएका छन् । जेठको पहिलो साताबाट आलु खन्न थालेका थाहानगरका किसानले यतिबेला रातो आलु प्रतिकेजी ३० रुपैयाँ र सेतो आलु प्रतिकेजी २०÷२२ रुपैयाँमा बिक्री गरिरहेका छन् ।

आलुको उचित बजारमूल्य नपाएपछि किसानले आलु खन्न त्यत्ति धेरै उत्साह पनि देखाइरहेका छैनन् । आलु ब्यापारी पनि थाहा नगरमा कमै मात्र उत्रिएका छन् । किसानले आलु खनेपछि खेतबारी जोतेर बन्दाकोभी र खुर्सानी रोप्ने तरखर गरिरहेका छन् । आलुमा मात्र होइन यतिबेला मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने टिस्टुङ, पालुङ, बज्रबाराही, चितलाङका तरकारी किसानले कुनैपनि तरकारीको मूल्य पाउन सकेनन् । बेमौसमी तरकारीको पकेटक्षेत्रकोे रुपमा दामनपालुङले परिचय बनाएको धेरै भइसक्यो । चिसो मौसम र उपयुक्त हावापानीका कारण मौसमी मात्रै होइन, बेमौसमी तरकारीका दामनपालुङ क्षेत्र परिचित छ ।

यो बर्ष असिनापानीका कारण पनि आलुको फलाई कम भएको अवस्था छ । लामो खडेरीले पनि आलुबालीलाई असर गरेको स्थानीय किसानले बताएका छन् । यो वर्ष आलुलगायत तरकारी उत्पादनमा गिरावट आएको किसानले जानकारी दिए । महँगो बीउ, मल, खनजोत, मजदुर ज्यालालगायत ठूलो खर्च गरेर तरकारी खेती गरेका किसान तरकारी बजारमूल्य ज्यादै न्यून भएपछि लगानी पनि नउठ्ने चिन्तामा छन् ।

थाहानगरको आलुको मुख्य बजार भनेको काठमाडौं, हेटौंडा, बीरगंज, नारायण्गढ, जनकपुर, बिराटनगर, बुटवल, भैरहवा, नेपालगंज हो । दामनपालुङ क्षेत्रमा उत्पादन भएको ४० प्रतिशतको हाराहारीमा तरकारी काठमाडौं जाने गरेको छ । एकातिर असिनाले बोट नष्ट गर्नु, अर्कोतिर बजारमूल्य नपाउनु किसानलाई ठुलो चिन्ताको बिषय बन्न पुगेको छ । पछि भाउ आउला भनेर भण्डारण गर्न पनि समस्या रहेको स्थानीयले बताएका छन् । आर्थिक मन्दीको कारण पनि हुन सक्छ आलु खरीद गर्ने व्यापारी थाहानगर नआएको स्थानीयले बताए । बिगतमा दामनपालुङ उपत्यकाबाट २ अर्ब रुपैयाँको तरकारी निर्यात हुने गरेको तर, यो बर्ष आधा भन्दा पनि कम हुने सम्भावना रहेको स्थानीय तरकारी व्यापारीहरु बताउँछन ।
बिगतका बर्षमा १ बोरा वीउ आलु रोप्दा १५ बोरा फल्ने
गरेको थियो तर, यो बर्ष १० बोरा पनि फलेको छैन । २०७२ बैशाख १२ को आमबिनाशकारी भुकम्पका कारण त्यो बर्ष थाहानगरका किसानले प्रतिकेजी ९÷१० रुपैयाँदेखि ९ रुपैयाँसम्ममा आलु बिक्री गर्नु परेको थियो ।
चालू आर्थिक वर्षको ९ महिनामा नेपालले विदेशबाट ६ अर्ब ९० करोड ८६ लाख रुपैयाँबराबरको आलु आयात गरेको छ । नेपालले भारत, बंगलादेश, अमेरिका, नेदरल्यान्ड्स र इन्डोनेसियाबाट २६
करोड ४१ लाख २६ हजार किलो आलु आयात गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार आलु उत्पादन नेपाल निकै अगाडि देखाएको छ । तर, भन्सार विभागको तथ्यांकले नेपालमा असाध्यै ठूलो
परिमाणमा आलु आयात भएको देखिन्छ । आयातीत आलुमा ९९ प्रतिशत हिस्सा भारत र बंगलादेशको छ । साउनदेखि चैतसम्ममा ६ अर्ब ८२ करोड रुपैयाँबराबरको २६
करोड ५ लाख ९४ हजार किलो भारतबाट र ८ करोड ५१ लाख रुपैयाँबराबरको ३५ लाख २८ हजार किलो आलु बंगलादेशबाट आयात भएको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*