बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु

साझाकुरा
२०८० जेष्ठ ८, सोमबार १०:१४

हेटौंडा-बागमती प्रदेशको राजधानी हेटौंडामा दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भब्य  समारोहबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार साँझ प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिता सञ्चालनमा ९ करोड ४२ लाख रुपैयाँ खर्च हुने अनुमान छ । बागमती खेलकुल विकास परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको यसै रंगशालमा आगामी जेष्ठ १३ गते समापन हुनेछ ।

र·शालामा प्रदेशको १३ वटै जिल्लाका खेलाडी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी, स्काउट र आम सर्वसाधारणको हजारौँको उपस्थितिबीच उद्घाटन गरिएको हो । समारोहमा प्रदेशको १३ वटै जिल्लाका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरियो । उद्घाटनका क्रममा खेलकुदप्रेमी दर्शकले भरिएको र·शालामा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो भने कलाकारको साङ्गीतितक प्रस्तुति समेत रहेको थियो । समारोहमा गायिका रचना रिमाल र बालगायक जेनिस उप्रेतीले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

प्रतियोगिताको दोस्रो संस्करणमा १३ खेल समावेश गरिएको छ भने प्रदेशका १३ जिल्लाबाट २ हजार ५ सय २ जना खेलाडी सहभागी छन् । प्रतियोगितामा २ सय १९ स्वर्ण २१९ रजत र ३५६ कास्य गरी कुल ७९४ पदकका लागि प्रतिस्पर्धा हुनेछ । मुलुक संघीय संरचनामा गएपछि बागमती प्रदेशले विं.सं. २०७९ मा पहिलोपटक प्रदेशस्तरको प्रतियोगिता आयोजना गरेको थियो । त्यतिबेला ८ वटा खेल समावेश गरिएको थियो । पिप्लेक्याम्पा रंगशालामा लगातार दुई संस्करण प्रदेश खेलकुद प्रतियोगिता संचालन गरिएको हो ।

प्रतियोगिताको औपचारिक उद्घाटन आइतबार भएपनि खेलहरु सोमबारबाट सुरु हुनेछ । प्रतियोगिताको १३ खेलमध्ये ९ खेल मकवानपुरमा, दुई खेल काठमाडौंमा, चितवन र ललितपुरमा एक÷एक खेल हुनेछ । उद्घाटनकै अवसरमा निर्णायकका तर्फबाट एथ्लेटिक्स् मुख्य प्रशिक्षक तथा निर्णायक चन्द्रबहादुर र खेलाडीका तर्फबाट धर्म महर्जनले प्रतियोगितामा समावेश सम्पूर्ण खेलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नियमअनुसार खेल्ने तथा खेलाउने प्रतिबद्धतासहित सपथ ग्रहण गरेका छन् ।

कार्यक्रममा ओलम्पियन भक्तबहादुर सापकोटा, जीतबहादुर मोक्तान र रामबहादुर गिरीले ओलम्पिक टर्च प्रज्वलन गरेर रंगशाला परिक्रममा गरेका थिए । यसअघि पहिलो संस्करणमा ओलम्पियन बैकुण्ठ मानन्धरले ओलम्पिक टर्च प्रज्वलन गरेर रंगशाला परिक्रममा गरेका थिए । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र, शिल्ड तथा मेडल प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*