‘पुरानै सिद्धान्त र प्राथमिकताको कपि–पेष्ट’

प्रदेशसभामा विनियोजन विधेयक पेश
साझाकुरा
२०८० जेष्ठ १०, बुधबार १३:२८

हेटौंडा-बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट निर्माणमा जुटेको छ । ९ जेठ मंगलबारबाट बजेट अधिवेशन पनि सुरु भइसकेको छ ।बजेट अधिवेशनको पहिलो बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले प्रदेशसभामा विनियोजन विधेयक–२०८० का सिद्धान्त र प्राथमिकता पेश गरेका छन् । उनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको क्षेत्र (करबाहेक) सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

विधेयकमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाइने, करको दायरा विस्तार गर्ने, कृषि क्षेत्रको व्यावसायीकरण र रुपान्तरणमार्फत् खाद्यसुरक्षा प्रत्याभूत गरिने, पर्यटनलाई प्रदेशको विशेष आर्थिक क्षेत्रको रुपमा विकास गर्ने, उद्यमशीलता प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, औद्योगिक ग्राम संचालन गर्ने, औद्योगिक पूर्वाधारमा लगानी गर्ने, समावेशी र सन्तुलित विकास जस्ता सिद्धान्त र प्राथमिक प्रस्तुत भएका छन् ।

प्रस्तुत विधेयकमाथि सदनमा छलफल हुन भने बाँकी छ । विनियोजन विधेयकमाथि सांसदहरुले बुधबार विहान ११ बजे बस्ने बैठकमा आफ्नो धारणा राख्नेछन् । तर, प्रदेशसभा बैठकपछि साझाकुरासँग प्रतिक्रिया दिँदै सांसदहरुले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुरानै फाइलबाट कपि–पेष्ट भएको टिप्पणी गरेका छन् । नयाँ
सरकारले नयाँ सिद्धान्त र प्राथमिकता ल्याउन नसकेको नेकपा एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले बताए । आर्थिक मामिला मन्त्रीले पुरानै सिद्धान्त र प्राथमिकता पढेर बैठकमा सुनाएको टिप्पणी गरे ।

सरकारले जनताको कामलाई ध्यान नदिएर व्यापारी पोस्न लागेको आरोपसमेत लगाए ।जनताको काम गर्ने भनेर छुट्याइएको बजेट नै खर्च नभएको र चालू खर्च धेरै भइरहेको भन्दै सरकारको कार्यक्षमतामाथि पौडेलले प्रश्न गरे । विकास बजेटको खर्च फागुनसम्म १७ प्रतिशत मात्रै रहनुले जनताको काम १७ प्रतिशत भन्दा बढी गर्न नसकेको उनको भनाई छ । आर्थिक मन्दीका कारण जनताको चुल्हो नबल्ने स्थितिमा सरकारले बजेटको प्राथमिकता सम्बोधन हुने गरी नआएको पौडेलले बताए । आर्थिक मन्दीलाई पनि सम्बोधन हुने गरी बजेट ल्याउनुपर्ने पौडेलको जोड छ ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद सुरेन्द्रराज गोसाईले सरकारको विनियोजन विधेयकले नयाँ आशा दिन नसकेको दाबी गरे । उनले सिद्धान्त र प्राथमिकतामा नयाँ पन केही नआएको र पुरानै कुरालाई जोडजाड र टालटुल गरेको गोसाईले दाबी गरे । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारले बजेटमा विभेद गरे रोष्टम घेर्ने चेतावनी दिए । प्रदेशसभा बैठकमा बोल्दै नेता थापाले बजेटमा आफ्ना विषयहरु नसमेटेको खण्डमा रोष्टम घेर्ने र बजेट पास गर्न नदिने चेतावनी दिएका हुन् ।

‘सरकारले बजेटमा सबैलाई समेटोस् । हामीले पनि जनतासँग केही कुरा भनेर आएका छौं । त्यसलाई सरकारले बुझेर बजेटमा समेटोस्’, उनले भने । प्रदेश सरकारले मन्त्रालय बढाएर के गर्न खोजेको ? भन्दै प्रश्न उठिरहेको उनको भनाई छ ।सत्तापक्षकै सांसदले पनि बजेट निर्माणमा खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतक कुन्दनराज काफ्लेले नीति निर्माणमा विचौलियाहरु हाबी हुनसक्ने भएकाले सरकारलाई खबरदारी गर्नुपर्ने
बताए ।

प्रदेशसभा बैठकमा उनले भ्रष्टाचारका कुरा सबैतिर सुनिने बताउँदै सबैतिर विचौलिया हाबी भएकाले सरकारका नीति तथा कार्यक्रम प्रभावकारी हुन नसकेको बताए । सरकारले नराम्रो काम गरेका खण्डमा सांसदलाई खबरदारी गर्नसमेत आह्वान गरेका छन् । आफ्नै दलको नेतृत्व भए पनि सरकारले गरेका नराम्रा काममा ताली पिट्ने भन्दा खबरदारी गरेर संघीयतालाई थप विश्वसनीय बनाउनुपर्नेमा उनले जोड दिए ।

आर्थिक मामिलामन्त्री लामाले विनियोजन विधेयकमा संविधानमा परिकल्पना गरे अनुसार समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा आगामी बजेट तर्जुमा गर्ने दाबी
गरेका छन् । प्रदेशको संस्थागत विकास र संविधानले प्रदान गरेको अधिकार क्षेत्रभित्र रहेर दायित्व पूरा गर्न पनि बजेट केन्द्रित रहने उनको भनाई छ । बैठकमा सांसदहरुले दलीय हिसाबमा प्रदेशसभाको अधिवेशनको सफलताको शुभकामना दिँदै वर्तमान राजनीतिक अवस्थाको विषयमा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

बैठकमा नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, नेकपा एमालेबाट मधुसूदन पौडेल, नेकपा माओवादी केन्द्रको तर्फबाट राधिका तामाङ, राप्रपाका तर्फबाट उद्धव थापा, नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्णप्रसाद शर्मा खनाल, नेमकिपाका तर्फबाट सुरेन्द्रराज गोर्साइ र हाम्रो नेपाली पार्टीका तर्फबाट शैलेन्द्रमान बज्राचार्यले आफ्नो धारणा राखेका थिए । माओवादी केन्द्रकी सांसद राधिका तामाङले नेता र नेतृत्वको कारणले वर्तमान व्यवस्थामाथि नै असन्तुष्टि बढेको बताइन् । उनले सबै मिलेर वर्तमान व्यवस्था टिकाउन अग्रसर हुनुपर्ने बताएकी छन् ।

एकीकृत समाजवादीका सांसद खनालले संविधान र संघीयता कार्यान्वयनमा सरकार गम्भीर भएर अघि बढ्नु पर्ने बताए ।नेमकिपाका नेता गोर्साइले देशको अर्थतन्त्र संकटमा
रहेकाले सरकारले मन्त्रिमण्डल थप गरेर गलत गरेको बताए । उनले सरकारले भागबन्डालाई नै आफ्नो प्राथमिकताको क्षेत्र निर्धारण गरेको भन्दै यसले आम नागरिकमा
नकारात्मक सन्देश प्रवाह भइरहेको बताए । हाम्रो नेपाली पार्टीका नेता बज्राचार्यले युवा पुस्ता वर्तमान राजनीतिक अस्थिरताबाट आजित बनेको दाबी गरेका छन् । उनले देशमा नै केही अवसर खोजीमा रहेका युवा राजनीतिक खिचातानीका कारण पलायन भइरहेको धारणा राखे ।

यसमा तपाइको मत

Your email address will not be published.


*