विद्यालयलाई शैक्षिक सामग्री सहयोग

साझाकुरा
२०८० जेष्ठ १३, शनिबार ०९:२४

हेटौंडा-निर्माण सामग्री व्यवसायी संघ मकवानपुरले शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । हेटौंडा–१ लालझाडीमा रहेको बाराही आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि शुक्रबार स्मार्ट टिभी, शैक्षिक तथा खेलकुद सामग्री सहयोग उपलब्ध गराइएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम तामाङ र प्रधानाध्यापक मञ्जु देवकोटालाई निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष बालकृष्ण बजगाईले उक्त सामग्री हस्तान्तरण गरेका छन् । वडाअध्यक्ष न्यौपानेले शैक्षिक क्षेत्रको विकासमा व्यवसायीहरुले गरेको योगदानको प्रशंसा गरे । शिक्षा क्षेत्रको विकासमा सबैले हातेमालो गर्नुपर्ने बताए ।

बाराही विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका वडाअध्यक्ष न्यौपानेले अबको आवश्यकता आधुनिक प्रविधिमैत्री शिक्षा रहेको बताए । उनले शैक्षिक सामग्री वितरणले बालबालिकाको विकास र सिकाई प्रक्रियामा सहयोग पुग्ने विश्वास लिए । बालविकास कक्षामा पढ्ने बालबालिकालाई प्रविधिमैत्री शिक्षणमा सहजता पुगोस भन्ने उद्देश्यले स्मार्ट टिभी वितरण गरेको संघका अध्यक्ष बजगाईले बताए । शिक्षाबिनाको जीवन अन्धकार र समुन्नत समाजको परिकल्पना गर्न नसकिने साथै व्यवसायी संघ भए पनि आफूहरुको समाजप्रति उत्तरदायित्व र जिम्मेबारी रहेको उनले बताए ।

५० हजार बराबरको शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको बजगाईले जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रममा निर्माण सामग्री व्यवसायी संघका सचिव सुदीप तिमल्सिना, कोषाध्यक्ष रोशन सापकोटा सदस्यहरु प्रदीप तिवारी, सुरेश अर्याल, विद्यालयका शिक्षक, विद्यार्थी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*