हुप्रचौरमा राष्ट्रिय भलिबल प्रतियोगिता गरिँदै

साझाकुरा
२०८० जेष्ठ १५, सोमबार १०:२८

हेटौंडा, १४ जेठ÷हेटौंडा उपमहानगरपालिका–४, स्थित हुप्रचौरमा राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडाको आयोजनामा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले २० जेठदेखि हेटौंडामा राष्ट्रिय भलिबल हुन लागेको बताए । प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, मकवानपुर जिल्ला भलिबल संघ, बागमती प्रदेश भलिबल टिम, मधेश प्रदेश भलिबल टिम, मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङ्जा र पाथिभरा भलिबल टिम झापाको १० वटा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा दश टोलीले नाम दर्ता गरिसकेको भन्दै अध्यक्ष विष्टले प्रतियोगितामा पुरस्कारसहित करिब २५ लाख खर्च हुने अनुमान रहेको बताए । प्रतियोगितामा विजेताले दुई लाख नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले एक लाख नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष विष्टले बताए । प्रतियोगिताको सेमी फाइनलमा पुग्ने दुई टिमलाई नगद ५० हजार सान्त्वना पुरस्कार प्रदान गर्ने जनाइएको छ । खेलको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई हेटौंडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, हेटौंडा १९ र ३ नम्बर वडा कार्यालय सहयोगीको रुपमा रहने आयोजकले जनाएको छ । यसवर्ष पुरुषतर्फको राष्ट्रिय खेल भएता पनि आगामी वर्षदेखि महिलाहरुको पनि प्रतियोगिता गरिने मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त सिटौलाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, कार्यालय प्रमुख माधव
कोइराला, हेटौंडा नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*