तेश्रो मेयर कप फुटबल : उद्घाटनमा वडा नम्बर १५ को विजयी सुरुवात

साझाकुरा
२०८० जेष्ठ १६, मंगलवार ०९:२४

हेटौंडा-हेटौंडामा सोमबारबाट तेश्रो मेयर कप वडास्तरीय फुटबल सुरु भएको छ । हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा
वडा नम्बर १५ ले बिजयी सुरुवात गरेको छ ।प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ लाई ३–१ गोल अन्तरले पराजित गर्दै १५ नम्बरले बिजयी सुरुवात गरेको हो । प्रतियोगितामा पहिलो हाफको सुरुवातमा १५ को डिबक्समा भएको हेण्ड बलको मौका उठाउँदै ३ नम्बरले पाएको पेनाल्टी सुटमार्फत बिनीत लामाले टिमलाई अग्रता दिलाएका थिए ।

एक गोलले अग्रता लिएको ३ नम्बरलाई खेलको ३१ औं मिनेटमा १५ नम्बरका बिजन भोलनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेल बराबरीमा आएको केही समय बित्न नपाउँदै १५ नम्बरका ऋषि मोक्तानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । मोक्तानले ३४ औं मिनेटमा गोल गर्दा पहिलो हाफ २–१ गोल अन्तरमा
रोकिएको थियो ।
दोश्रो हाफमा खेललाई बराबरीमा ल्याउने उत्साह सहित मैदान छिरेको ३ नम्बरको चाहना पुरा गर्न नपाउँदै १५ नम्बरका बिश्वास मोक्तानले गोलअन्तर बढाएका थिए । उनले ३ नम्बरका किपरबाट उम्किएको बललाई दोश्रो हाफको १० औं मिनेटमा जाली चुमाए । दुई गोलले अग्रता लिएको १५ नम्बर बिरुद्ध गोल फर्काउदै खेलमा फर्कने वडा नम्बर ३ को चाहना पुरा भएन ।

खेलमा निकै उत्कृष्ठ प्रदर्शन गरेको १५ का खेलाडी ऋषि मोक्तान ‘म्यान अफदी म्याच’ घोषित भए । उनलाई वडा नम्बर १५ का अध्यक्ष सुनिल मोक्तानले म्यानअफदी म्याचको ट्रफि दिएका थिए । उपमहानगरका १९ वडाको सहभागिता रहेको प्रतियोगितामा बिजेताले नगद २ लाख, उपबिजेता १ लाख ५० हजार, सान्त्वना २ वटा टिमलाई ५०÷५० हजार, सर्बोत्कृष्ठ खेलाडिलाई १५ र उत्कृष्ठ खेलाडीलाई ५÷५ हजार रुपैयाँ नगद सहित शिल्ड एवम् मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत मंगलबार हेटौंडा ६ र १० बीच खेल हुने आयोजकले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन नगरप्रमुख मीनाकुमारी लामाले गरेकी थिइन् । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रम्ख लामाले खेलकुदको विकासका लागि उपमहानगरपालिका सधै लाग्ने बताइन् । उनले पूर्वाधार निर्माणको चरणमै रहेको पिप्ले क्याम्पा रंगशालालाई थप व्यवस्थित बनाउनका लागि उपमहानगरपालिका लाग्ने प्रतिबद्धता जनाइन् ।

नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, नगरका बिभिन्न वडाका अध्यक्षहरु, जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*