भारतीय संसदको नक्सा सच्याउन हेटौंडाबाट कूटनीतिक पहल खोजियो

साझाकुरा
२०८० जेष्ठ १८, बिहीबार ०९:१२

हेटौंडा-भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु क्षेत्र समेटिएको विरोधमा बागमती प्रदेशसभामा संकल्प प्रस्ताव स्वीकृत भएको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि दफाबार छलफलका लागि बोलाइएको बुधवारको प्रदेशसभा बैठकमा भारतको ‘अखण्ड भारत’को नक्साविरुद्ध संकल्प प्रस्ताव पारित भएको हो । नेपालको भूभाग समेटेको नक्सा संसद भवनमा राखेसँगै भारतको तीव्र आलोचना
भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड बुधवार भारत भ्रमणका लागि त्यहाँ पुगेका छन् । प्रचण्ड भारत पुग्नु र हेटौंडास्थित बागमती प्रदेशसभामा ‘अखण्ड भारत’को नक्सा सच्याउन माग गर्दै कूटनीतिक पहल खोजी गरिएको हो ।

बागमतीका सांसदहरुले उक्त नक्सा सच्याउन प्रधानमन्त्री प्रचण्डमार्फत भारतसँग कूटनीतिक पहलको अपेक्षासमेत राखेका हुन् । प्रधानमन्त्री प्रचण्ड चारदिने औपचारिक भ्रमणका सिलसिलामा नयाँदिल्ली पुगेका हुन् । करिब १ सय २० सदस्यीय टोलीको नेतृत्व गर्दै उनी दिल्ली गएका हुन् । बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरिन् । दिल्लीस्थित नेपालका राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । विमानस्थल बाहिर सांस्कृति टोलीले झाँकी प्रदर्शन गरेको थियो ।

नेकपा एमालेले बुधवार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ बमोजिम संकल्प प्रस्ताव पेश गरेको थियो । नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले पेश गरेको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रदेशसभाको दोस्रो कार्यकालमा बुधवार पहिलो पटक संकल्प प्रस्ताव पेश भएको हो । सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेश गरेको संकल्प प्रस्तावलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा
(एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले समर्थन गरेका छन् ।

प्रदेशसभा नियमावलीको नियम निलम्बन गरेर संंकल्प प्रस्ताव पेश गरिएको थियो । प्रमुख प्रतिपक्षी दलको प्रस्तावलाई टेबुल गराउन सत्तारुढ दल नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभा नियमावली २०७४ को नियम २११ को उपनियम (१) बमोजिम नियम निलम्बन गरेका थिए ।
नियम निलम्बन पश्चात् प्रमुख सचेतक पौडेलले संकल्प प्रस्ताव पेश गरेका थिए । प्रस्तावमाथि कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, माओवादी केन्द्रका मुख्य सचेतक रत्न ढकाल, राप्रपाकी कुमारी तामाङ, एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले समर्थन गरेका हुन् ।

प्रस्तावक पौडेलले नेपालको लुम्बिनी कपिलवस्तु भूभाग समेटेर आफ्नो भारतीय संसद् भवनमा नक्सा राखेकोमा प्रदेशसभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिक रुपमा नेपाल सरकारले पहल गर्नुपर्ने बताए । बागमती प्रदेशसभामा संकल्प प्रस्ताव पारित हुँदा देशका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा छन् । नेपाल कसैको अधीनमा नरहेको भन्दै नक्सा सच्याउन सरकारले भूमिका खेल्नुपर्ने पौडेलको भनाई छ ।

भारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ । सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ । जसको विरोध नेपालमा तीव्ररुपले भइरहेको छ । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)को मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस)ले अखण्ड भारतको विषयलाई उठाउँदै आएको छ । जसलाई प्राचीन समयमा भारतीय प्रभाव क्षेत्रको रुपमा व्याख्या गर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*