राष्ट्रिय भलिबलः आज दुई सेमिफाइनल खेल

साझाकुरा
२०८० जेष्ठ १९, शुक्रबार ११:०५

हेटौंडा-हेटौंडामा जारी खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०८० अन्तर्गत आज शुक्रबार दुई वटा सेमिफाइनल खेल हुँदैछन् ।बलिया ३ वटा विभागीय भलिबल टिम र गण्डकी प्रदेशका युवा खेलाडीको लोभलाग्दो प्रदर्शनले रोचक बनिरहेको राष्ट्रिय भलिवल प्रतियोगिताको दुई महत्वपूर्ण खेल आज दुई फरक समयमा हुन लागेको हो । हुप्रचौरस्थित भलिबल कोर्टमा बिहान ७ बजे नेपाल आर्मी र नेपाल पुलिस क्लबको भलिवल टिम फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दिउसो ४ बजे सशस्त्र प्रहरीको एपीएफ भलिवल टिम र गण्डकी प्रदेश भलिबल टिम उपाधि नजिक पुग्न कोर्टमा संघर्ष गर्ने आयोजक जिल्ला भलिबल संघका सचिव सन्तोष श्रेष्ठले जानकारी दिए ।बिहीवार साँझ सम्पन्न समूहगत दुई खेल पश्चात सेमिफाइनल समिकरण पूरा भएको थियो । नेपाल आर्मी समूह ‘ए’को र एपीएफ समूह ‘बी’को विजेता बनेको छ ।

पहिलो खेलमा एपीएफ क्लबले नेपाल पुलिसलाई २७–२५, २ ६–२८, २५–२१ र २५–२० को सेटमा पराजित गरेको छ । खेलमा एपीएफका ओपन स्पाइकर महेन्द्र श्रेष्ठ म्यान अफ दी म्याच चुनिए । बिहीवार भएको दोस्रो खेलमा समूह ‘ए’बाट त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई पराजित गरेको थियो । आर्मी गण्डकीको प्रतिष्पर्धा निक्कै रोचक बनेको थियो । सम्भवतः हेटौंडामा पहिलोपटक लाइट बालेर खेल खेलाइएको थियो । खेल लम्बिँदा आयोजकले लाइट बालेर खेल सम्पन्न गराएको छ ।
त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई २८–२६, २५–१८, २३–२५ र २५–२३ को सेटले पराजित गरेको थियो । लगातार दुई सेट जितेको आर्मीले तेस्रो सेट जित्न नसक्दा खेल लम्बिएको थियो । २५–२३ को अन्तिम सेट लाइट बालेर खेलाइएको थियो । खेलमा आर्मीका दुर्गा महतो म्यान अफ दी म्याच घोषित भएका छन् ।

स्वर्गीय केशवलालश्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा १६ जेठबाट सुरु प्रतियोगिताको फाइनल खेल २० जेठ शनिबार हुनेछ ।
प्रतियोगितामा ३ विभागिय टिम सहित ७ टिम सहभागी थिए । प्रतियोगिताको विजेताले नगद दुई लाख, उपविजेताले नगद एक लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित हुने २ टिमले नगद ५०÷५० हजार रुपैयाँ पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*