कांग्रेस हेटौंडा नगर सम्मेलन, शुद्धिकरणमा डीनाको जोड

साझाकुरा
२०८० जेष्ठ २१, आईतवार ११:४६

हेटौंडा-नेपाली कांग्रेस हेटौंडा नगर कार्यसमितिको नगर सम्मेलन भएको छ । नेपाली कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा नगर सम्मेलन गरिएको हो ।सम्मेलनलाई सम्बोधन गर्दै डीनाले कांग्रेसभित्र शुद्धिकरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् । उनले कांग्रेसमा २०४६ सालदेखि शुद्धिकरण अभियानको चर्चा भएको तर अव चर्चा भन्दा पनि शुद्धिकरण अभियान सुरु गर्नुपर्ने समय आएको बताइन् ।

डीनाले पार्टीमा कुवेरहरुको हावि भएको भन्दै कुवेरको सञ्जालबाट पार्टीलाई उन्मुक्ति दिनुपर्ने बताएकी हुन् । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले टिकट नपाउँदैमा यो त्यसको र यो फलानाको गुटको भन्ने परिपाटीको अन्त्य हुनुपर्ने भन्दै कांग्रेसमा ग्रासरुट अभियान चलाउन आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस हेटौंडा नगरसभापति उत्सव इटेनीको सभाध्यक्षतामा भएको नगर सम्मेलनमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री लामा, नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँलगायतको आतिथ्यता थियो । कांग्रेस प्रदेश सभापति बानियाँले जनताको मन जित्न विकासको एजेण्डा र योजना आवश्यक पर्ने र जनताले विकास गर्नेलाई मत दिने र राजनैतिक परिवेश बदलिएको भन्दै कांग्रेसले बदलिएको परिवेसलाई उठान गर्न आवश्यक रहेको बताए । पार्टी र नेतृत्वसँग चित्त नबुझेको कुरा पार्टीभित्र राख्नु पर्ने, पार्टी र नेतृत्वसँगको मनमुटावलाई सामाजिक सञ्जालमा जथाभावी रुपमा लेख्नेलाई पार्टीले कारबाही गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्वसभापति रघुरमण न्यौपाने, कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ का संघीय सभापति दमोदर खनाल, कांग्रेस प्रदेश १ क र ख का सभापति सुशान्त श्रेष्ठ, हेटौंडा उपमहानगर उपप्रमुख राजेश बानियाँ, कांग्रेस हेटौंडा नगरका निवर्तमान सभापति आनन्दराम पराजुली, कांग्रेस मकवानपुर नेता यतिराज सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यकमको स्वागत नगर उपसभापति डोल्मा स्याङ्बोले गरेका थिए भने समापन नगर उपसभापति रामकृष्ण कोइरालाले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*