प्रधानमन्त्री प्रचण्डले राष्ट्रघात गरे

साझाकुरा
२०८० जेष्ठ २२, सोमबार १३:४५

हेटौंडा-नेकपा एमालेका सचेतक तथा मकवानपुरबाट निर्वाचित सांसद महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट राष्ट्रघात भएको आरोप लगाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका अगाडि घुँडा टेकेको आरोप लगाएका छन् । प्रधानमन्त्री प्रचण्डले भारत भूमिमा रहेको अवस्थामा एकतर्फी रुपमा नेपालको भूभाग माथिको दावी छाड्ने अभिव्यक्ति दिनु भनेको मुलुकप्रतिको गद्दारी भएको आरोप लगाए । उनले भनेका छन्, ‘नेपालको १ इन्च जमिन पनि कसैलाई दिने वा साट्ने भन्ने अधिकार प्रधानमन्त्रीलाई छैन र हुँदैन पनि ।

कालापानी–लिपुलेक–लिम्पियाधुरा नेपालको जमिन हो । सत्तास्वार्थका लागि अरुलाई खुसी पार्न नेपालको यो जमिनविरुद्ध धावा बोल्ने छुट प्रधानमन्त्रीलाई छैन । यो भन्दा ठुलो राष्ट्रघात अरु केही हुनै सक्दैन, हामी यसको सशक्त प्रतिवाद गर्छौं ।’, प्रचण्डको भारत भ्रमणको उपलब्धी १५ वटा मुर्रा भैंसी भएको उनले बताए ।भारत भ्रमणका लागि जहाज चढ्नु केही क्षण अगाडिमात्र नागरिकता ऐन जारी हुनुले प्रधानमन्त्री र राष्ट्रपति कसका अगाडि घुँडा टेके भन्ने प्रष्टै भएको उनको भनाइ छ । यस्तो राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही सुरु गर्नुपर्ने बताए ।

‘नेपालको संविधानको धारा ३ ले भौगालिक अखंण्डता सहितको राष्ट्रको व्यवस्था गरेको छ । यसरी नै धारा ४ ले नेपाल स्वतन्त्र, अभिभाज्य, सर्वाभौमसत्ता सम्पन्न राज्य हुने उद्घोष गरेको छ र संविधानको धारा ४(२)ले नेपालको क्षेत्र संविधान जारी हुँदाको वखतको क्षेत्र र प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र भनी उल्लेख गरेको छ । हाम्रो संविधान जारी हुनुभन्दा २०० वर्ष अगाडिदेखिको नेपालको भूभाग परित्याग गर्न किमार्थ सकिन्नँ ।’, बर्तौलाले भने ।

२०७७ सालमा केपी ओली प्रधानमन्त्री भएको बेलामा नेपालको कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर नेपालको नक्सा जारी भएको र सो नक्सालाई संविधानको अंगको रुपमा समावेश गरिएको उल्लेख गरे । ‘नेपालको कुनै सरकार तथा प्रधानमन्त्रीलाई नेपालको कुनै भूभाग अन्य कुनै मुलुकलाई दान दिने वा छाड्ने वा सट्टापट्टा गर्ने अधिकार दिएको छैन र प्रधानमन्त्री भारत प्रस्थान गर्नुभन्दा अगाडि बसेको मन्त्रीपरिषद स्वयंले समेत यस्तो अधिकार प्रचण्डलाई दिएको भन्ने कुरा सार्वजनिक भएको थिएन ।’, उनी भन्छन् ।

‘सन २०१९ देखि विग्रेको नेपाल भारत सम्बन्ध भन्ने प्रचण्डको भनाईको अर्थ २०१९ मा भएको संविधान संशोधनवाट नेपालको भूभाग समेटेर नक्सा जारी गरिनु नै गलत भएको भन्ने देखिन्छ’, उनले भनेका छन्, ‘प्रचण्डको अन्तरवार्ताबाट उनी सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विरुद्धको कार्य गरिरहेछन भन्ने स्पष्ट छ । यो नेपालको संविधानविरुद्धको कार्य हो ।

नेपालको संविधानको धारा १७(२)(च) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (१) र (२) विपरीतको कार्य हो ।’, उनले भने । प्रधानमन्त्रीको अभिव्यक्ति मुलुक विरुद्धको घात भएको जिकिर गर्दै भौगोलिक अखण्डताविरुद्ध अभिव्यक्ति दिने र यसको षडयन्त्र गर्ने कार्य मुलुकी अपराधसंहिताको दफा ४९ र ५१ विरुद्धको कारवाही हुनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*