मेयर कपः १४ र ११ नम्बर वडा अन्तिम चारमा

साझाकुरा
२०८० जेष्ठ २३, मंगलवार ०९:४७

हेटौंडा-हेटौंडा उपमहानगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारबाट क्वाटरफाइनल खेल सुरु भएका छन् । नगर खेलकुद विकास समितिको आयोजना भइरहेको तेस्रो संस्करणको मेयर कपमा सोमबार दुई खेल भएका छन् । हेटौंडा–५, स्थित पिप्लेक्याम्पा रंगशालामा भएको क्वाटरफाइनमा १४ र ११ नम्बर वडा विजय हासिल गर्दै अन्तिम चारमा प्रवेश गरेको छ ।

११ नम्बर वडाले १ नम्बर वडालाई २–१ गोलले पराजित गरेको छ । ११ नम्बर वडाको जितमा ललित चौलागाईंले खेलको ७ औं र मनोज घलानले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए । १ नम्बर वडाका लागि जेनिस थपलियाले खेलको ६० औं मिनेटमा सान्त्वना गोल फर्काए पनि हार भने टरेन । १ नम्बर वडाले गोल गर्ने राम्रा अबसर गुमाउँदा खेल गुमाउनु प¥यो ।

सोमबार नै भएको अर्को क्वाटरफाइनल खेलमा १४ नम्बर वडाले ९ नम्बर वडालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । निर्धारित समय गोलरहित बराबरी खेलेका दुवै वडाको नतिजा पेनाल्टी सुटआउटमा निकालिएको थियो । पेनाल्टी सुटआउटमा पनि ५–५ को बराबरी भएपछि१४ नम्बर वडाले सडन डेथमा जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगिताअन्तर्गत् आज मंगलबार वडा नम्बर २ र १३ तथा १९ र १५ नम्बर वडाले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । यसअघि भएको खेलमा २ नम्बरले १७ नम्बरलाई र १९ नम्बरले ८ नम्बर वडालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका थिए । १५ नम्बर वडाले १८ नम्बरलाई र १० नम्बर वडालाई निरीह बनाउँदै १३ नम्बर वडा अन्तिम आठमा पुगेको थियो ।

प्रतियोगिताको सेमिफाइनलका खेलहरु बुधबार र बिहीबार हुनेछ भने फाइनल खेल शनिवार हुने जनाइएको छ । मेयर कप फुटबल प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*