भूमि साटफेरबारे प्रधानमन्त्रीले ढाँट्नुभयोः बर्तौला

साझाकुरा
२०८० जेष्ठ २३, मंगलवार १०:०४

हेटौंडा-नेकपा एमालेका सचेतकसमेत रहेका मकवानपुरका सांसद महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमि साटफेर बारे संसदलाई ढाँटेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बर्तौलाले प्रधानमन्त्रीलाई भूमि साटफेर गर्ने अधिकार कसले दियो ? भन्दै प्रश्न गरे । ‘प्रधानमन्त्रीज्यूले रोष्ट्रममा उभिएर सिंगो देश र सदनलाई ढाँट्नुभयो, झूट बोल्नुभयो ।

उहाँले भनेकै विषयमा हामीले हिजैदेखि विषयवस्तु राखेका थियौं । उहाँले अन्तर्वार्ताको क्रमममा नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, सुस्ता, कालापानी लगायत विषयलाई सट्टपट्टा गर्न सकिने अभिव्यक्ति दिनुभयो । यो हामीले भनेका होइनौं प्रधानमन्त्रीको मुखबाट आएको विषय हो । नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो ?’, उनले भने ।

नेपालको संविधान अनुसार राष्ट्रहितविरुद्धको अभिव्यक्ति भएकाले दण्डनीय भएको बताए । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आफूले भूमि साटफेरको विषयमा कहीँ नभनेको प्रष्टीकरण दिएका थिए । यसैगरी, प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कालापानी–लिपुलेकमाथि नेपालको दाबी छाड्ने कुरा नगरेको प्रष्टीकरण दिएका थिए ।

संसदमा प्रतिपक्षी दलहरुले उठाएका विषयमाथि जवाफ दिँदै उनले नेपालको भूमि फिर्ताबाहेक अर्को कुनै विकल्पबारे आफूले चर्चा नगरेको स्पष्ट पारे । प्रधानमन्त्री भारत भ्रमणमा रहँदै राष्ट्रिय समाचार समितिले उनको अन्तर्वार्ता प्रकाशित गरेको थियो । सो अन्तर्वार्तामा प्रधानमन्त्रीले सीमा विवाद समाधानका लागि भूमि सट्टापट्टा गर्ने अन्तर्राष्ट्रिय अभ्यासबारे चर्चा गरेका थिए । यही विषयलाई लिएर प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि आज प्रधानमन्त्रीले जवाफ दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*