मकवानपुरमा नापी भएका जग्गाको लालपूर्जा दिन माग

साझाकुरा
२०८० जेष्ठ २५, बिहीबार ११:३३

हेटौंडा-नेकपा (एमाले) निकट भूमि अधिकार तथा श्रमिक संगठन मकवानपुरले जिल्लामा नापी भइसकेको जग्गाको लालपूर्जा वितरण गर्न माग गरेको छ । जिल्लाको १० वटै स्थानीय तहमा नापी भइसकेका जग्गाको लालपूर्जा दिन संगठनले माग गरेको हो । राष्ट्रिय भूमि आयोग मकवानपुरलगायत विभिन्न सम्बन्धित निकायहरुमा ज्ञापनपत्र बुझाउँदै भूमि अधिकारबाट बञ्चित भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्न माग गरिएको छ । यसैगरी, संगठनले आर्थिक वर्ष २०८०÷८१ को बजेट विनियोजनमा भूमि व्यवस्थासम्बन्धी समस्या समाधानका लागि प्राथमिकताका साथ बजेट व्यवस्था गर्न माग गरेको छ ।

स्थानीय तहमा नापी नभएका वडाहरुमा छिटोछरितो काम सम्पन्न गर्न अधिकतम दक्ष कर्मचारी व्यवस्थापन गरी काम सम्पन्न माग गरेको छ । यस्तै जग्गा नापी नक्सा गर्दा विवाद रहेका स्थानहरुमा सत्य तथ्य छानबीन गरी विवाद समाधान गर्न पनि संगठनले माग गरेको छ । संगठनले हेटौंडा उपमहानगरको वडा नम्बर १२, १३ र १४ को साथै मनहरी गाउँपालिकाको नौं वटै वडामा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्येवर्ती क्षेत्रको जग्गा नापी गर्न रोक लगाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय वन ऐन, नियम समयानुकुल हुनेगरी जनभावना अनुरुप परिमार्जन गरी सो क्षेत्रमा बसोबास गरिरहेकाहरुको लागि जग्गा नापी गरी पूर्जा वितरण कार्यलाई अघि बढाउन माग गरेको छ ।

संगठनले जिल्ला प्रशासन कार्यालय मकवानपुर, राष्ट्रिय भूमि आयोग मकवानापुर, नापी कार्यालय मकवानापुर, मालपोत कार्यालय मकवानपुर, डिभिजन वन कार्यालय मकवानपुर, जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो । संगठनका केन्द्रीय कोषाध्यक्ष सुनिल लोप्चन, जिल्ला अध्यक्ष यज्ञबहादुर श्रेष्ठ, सचिव विष्णु आर्चाय र एमाले हेटौंडा नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनीलगायतकाले ज्ञापनपत्र बुझाउने कार्यक्रममा उपस्थिति थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*