१५ नम्बर वडा मेयर कप फुटबलको फाइनलमा

साझाकुरा
२०८० जेष्ठ २५, बिहीबार ११:३५

हेटौंडा-हेटौंडा उपमहानगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत बुधवार पहिलो सेमिफाइनल खेल भएको छ ।१५ नम्बर वडाले १४ नम्बर वडालाई हराउँदै फाइनल यात्रा तय गरेको छ । नगर खेलकुद विकास समितिको आयोजना भइरहेको तेस्रो संस्करणको मेयर कपमा १५ नम्बर वडाले सडनडेथमा १४ नम्बरलाई पराजित गरेको हो ।हेटौंडा–५, स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा निर्धारीत समय १–१ को बराबरी भएको थियो । खेलको पहिलो गोल १५ नम्बर वडाका सन्तबहादुर घलेले दोस्रो हाफको १८ मिनेटमा गरेका थिए । १४ नम्बर वडाबाट खेलको ७१ औं मिनेटमा उमेश गोङ्वाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

निर्धारीत ९० मिनेटभित्र हारबाट जोगिएको १४ नम्बर वडाले पेनाल्टी सुटआउटमा पनि २–२ को बराबरी गरेको थियो । पेनाल्टी सुटआउटमा १५ नम्बर वडाका लागि ऋषि मोक्तान र अनिष लामाले मात्रै गोल गरे । १४ नम्बर वडाका लागि प्रताप थोकर र उमेश गोङ्वाले गोल गरेका थिए । पेनाल्टी सुटआउन पनि बराबरी भएपछि सडनडेथमा १५ नम्बर वडाका दिपेश रुम्बाले गोल गर्दा १४ नम्बर वडाका खेलाडी गोल गर्नबाट चुके ।

सडनडेथको अन्तिम मौका खेर गएपछि १४ नम्बर वडाको सेमिफाइनलबाटै मेयर कपको यात्रा टुंगिएको छ । १४ नम्बर वडाले क्वाटरफाइनलमा ९ नम्बर वडालाई पराजित गरेको थियो ।१५ नम्बर वडाले उपाधिका लागि आज बिहीवार हुने खेलको विजेतासँग शनिवार प्रतिस्पर्धा गर्नेछ । १५ नम्बर वडाले १९ नम्बर वडालाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको थियो । पिप्ले क्याम्पा रंगशालामा आज ११ नम्बर वडा र १३ नम्बर वडा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । ११ नम्बर वडाले १ नम्बर वडालाई र १३ नम्बर वडाले २ नम्बर वडालाई पराजित गर्दै सेमिफाइनल आएका थिए ।

मेयर कप फुटबल प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*